पोखरा, १९ चैत्र। पछिल्ला केही वर्षयता बीमालेख परित्याग गर्नेको संख्या तीव्र रूपमा बढिरहेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मात्र ७१ हजार ५५४ बीमितले ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरेका छन्। चार वर्षअघिको तुलनामा यो संख्या झन्डै दोब्बरले वृद्धि भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार ३३१ बीमितले ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरेका थिए। त्यसपछि हरेक वर्ष यो संख्या बढ्दै गयो। आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड रुपैयाँ बराबरका ८१ हजार ८६० बीमालेख सरेण्डर भए। आर्थिक वर्ष २०७९/८० मा यो संख्या ९६ हजार ९३८ पुग्यो, जसअन्तर्गत १३ अर्ब ३४ करोड रुपैयाँको बीमा खारेज गरियो। चालू आर्थिक वर्षको आठ महिनामै यो संख्या ७१ हजार नाघिसकेको छ, जसले सरेण्डर दर अझै उच्च हुने संकेत गरेको छ।

बीमा क्षेत्रका विज्ञहरूका अनुसार बीमालेख सरेण्डर हुनुका मुख्य चार कारण छन्। एक, आर्थिक अवस्था कमजोर हुँदा वा आम्दानीको स्रोत घट्दा। दुई, विपरीत परिस्थितिमा समेत बीमाको आवश्यकता नरहेको ठानिँदा। तीन, विदेश जाने तयारी गर्दा। चार, आर्थिक रूपमा सम्पन्न भएपछि बीमालाई अनावश्यक ठान्दा। यी सबै कारणले बीमालेख परित्यागको दर बढिरहेको छ।

बीमा विज्ञहरूको भनाइमा नियामक निकायले बीमालेख सरेण्डरको अवधि तीन वर्षबाट पाँच वर्ष पुर्याउने प्रस्ताव गरे पनि कार्यान्वयन हुन सकेको छैन। नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीका अनुसार सरेण्डर दर बढ्नु नीतिगत कमजोरीको संकेत हो। बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, अनावश्यक प्रलोभन, र जबर्जस्ती पोलिसी बिक्री गराउने प्रवृत्तिले पनि सरेण्डर दर बढाएको उनको भनाइ छ।

बीमालेख परित्याग निरन्तर बढ्दै जानु जीवन बीमा क्षेत्रका लागि सकारात्मक संकेत होइन। यसलाई न्यूनीकरण गर्न नीति परिमार्जन आवश्यक भएको विज्ञहरूको सुझाव छ। बीमाको उद्देश्य नागरिकलाई आर्थिक सुरक्षामा बाँध्नु भए पनि सरेण्डर दर घटाउन व्यवहारिक सुधार आवश्यक देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0