पोखरा, १९ चैत्र। अन्तर्राष्ट्रिय उडान सञ्चालनसँगै आशाको सञ्चार गराएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) पुनः संकटको संघारमा पुगेको छ। गत कात्तिकदेखि पाँच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडान थालेपछि लुम्बिनी क्षेत्रमा पर्यटन प्रवर्द्धनमा ठूलो उत्साह देखिएको थियो। तर, हालै चार अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवा उडान स्थगित गरेपछि विमानस्थलको भविष्य अन्योलमा परेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कतार एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, र जजिरा एयरवेजले ‘समर शेड्युल’का लागि अनुमति नलिएकाले आइतबारदेखि उनीहरूको उडान बन्द भएको हो। गत शनिबारमात्रै जजिरा एयरवेजले १५६ यात्रु भैरहवा ल्याएको थियो भने १६६ यात्रु कुवेत प्रस्थान गरेका थिए। फ्लाई दुबईको उडानमार्फत ४२ यात्रु भैरहवा ओर्लिएका थिए भने ३७ यात्रु दुबई गएका थिए।
ती वायुसेवा कम्पनीहरूले व्यावसायिक रणनीति परिवर्तन गर्दै काठमाडौं केन्द्रित हुने नीति अपनाएपछि भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ। यसले लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी, उद्योगी र स्थानीयहरूमा निराशा छाएको छ। राज्यले विमान कम्पनीहरूको काठमाडौं केन्द्रित मानसिकता हटाउन पहल गर्नुपर्ने माग उठिरहेको छ।
सरकारले जीबीआईएलाई व्यावसायिक रूपमा आकर्षक बनाउन विभिन्न सहुलियत घोषणा गरे पनि वायुसेवा कम्पनीहरूलाई लामो समयसम्म टिकाइराख्न सकेको छैन। भैरहवाबाट उडान गर्ने विमान कम्पनीहरूलाई यात्रु सेवा शुल्क, पर्यटन शुल्क, ल्यान्डिङ, पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङमा छुट प्रदान गरिएको छ। काठमाडौंभन्दा सस्तो हवाई इन्धन उपलब्ध गराइएको छ। यति हुँदा पनि विमान कम्पनीहरू निरन्तर उडान गर्न तयार छैनन्।
विमानस्थल प्रमुख प्रशासकीय अधिकृत दिनेश सागर भुसालका अनुसार भैरहवामा श्रम स्वीकृतिको कार्यालय खोलिएको छ, तर स्वास्थ्य परीक्षण, म्यानपावर तथा भिसा सेन्टर जस्ता पूर्वाधार नहुँदा वैदेशिक रोजगारीमा जानेहरूका लागि यो गन्तव्य पर्याप्त सहज छैन। यदि आवश्यक पूर्वाधार विकास गरिएन भने भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर आकर्षण बन्न सक्ने छैन।
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरूले सरकारले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने नीति अपनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइ छ, “अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नियमित उडान स्थगित भइरहने हो भने, यसको औचित्यमै प्रश्न उठ्नेछ।”
भैरहवा विमानस्थलमा हाल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको संरचना छ, जसमा ३ किलोमिटर लामो धावनमार्ग रहेको छ। चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्न मिल्ने क्षमताका साथ अत्याधुनिक प्रविधि जडान गरिएको छ। तर, पर्यटकको चाप नबढ्दा, उडान घट्दा र सेवा प्रवाह प्रभावकारी हुन नसक्दा विमानस्थल केवल नामका लागि मात्र अन्तर्राष्ट्रिय बनिरहेको छ।
पर्यटन व्यवसायी र उद्योगीहरूले राज्यलाई तत्काल दीर्घकालीन रणनीति बनाउन आग्रह गरेका छन्। उनीहरू भन्छन्, “भैरहवाबाट उडान दीर्घकालीन बनाउन नसकिएमा विमानस्थलको भविष्य थप संकटमा पर्नेछ।”




























