पोखरा, २१ चैत्र। पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ लाई पोखरा महानगरपालिका र सम्पूर्ण नगरवासीको साथ रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन्। उनले सार्वजनिक रूपमा महायज्ञ सफलताको शुभकामना दिँदै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई महानगरले सधैं प्रोत्साहन गर्ने बताएका छन्।
यस ऐतिहासिक महायज्ञमा देश तथा विदेशका ख्यातिप्राप्त धर्मगुरुहरू, कथा वाचक, साधु-सन्तहरू तथा भक्तजनहरूको ठूलो जमघट रहने छ। श्रीमद्भागवत, श्रीराम कथा, शिवमहापुराण, श्रीमद्देवी भागवत लगायतका धार्मिक ग्रन्थहरूका प्रवचन गरिने छ। साथै, लाखौंको ब्रतबन्ध, विवाह, चौरासी पूजा, तुलादान, कोटि दीप प्रज्वलन, ३ सय भन्दा बढी ब्राह्मणद्वारा नियमित हवन, एक करोड पार्थिव शिवलिङ्ग निर्माण जस्ता महत्वपूर्ण धार्मिक अनुष्ठानहरू सम्पन्न गरिने छन्।
महायज्ञ अवधिभर विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रम पनि आयोजना गरिनेछ। राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, ११ हजार कलश पूजन, हजारौं बालिकाको कन्या पूजन, जेष्ठ नागरिक सम्मान, शास्त्र सम्मेलन, २१ फिटको रुद्राक्ष शिवलिङ्ग निर्माणजस्ता कार्य गरिनेछ। गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूको फोटो प्रदर्शनी गरी तिनको प्रचारप्रसार गरिनेछ।
महायज्ञको आयोजना मानव सेवा फाउण्डेसन नेपालले गरेको हो। यो संस्था विगत एक दशकदेखि सामाजिक, धार्मिक तथा आध्यात्मिक सेवामा संलग्न रहँदै आएको छ। देशभरका विभिन्न जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिर निर्माणमा सहयोग पु¥याउँदै आएको फाउण्डेसनले अभिभावकविहीन बालबालिकाका लागि गोदावरी नगरपालिका–१४ मा मामाघर आश्रम तथा भक्तपुरको चाँगुनारायण–९ मा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरिरहेको छ।
महायज्ञले पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई प्रवर्द्धन गर्नुका साथै भक्तजनहरूलाई आध्यात्मिक उन्नतिमा जोड्ने विश्वास गरिएको छ।































