पोखरा, २१ चैत्र। काठमाडौंको तीनकुनेमा गत शुक्रबार राजावादी प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाउनुपरेको भन्दै नेपाल प्रहरीले आफ्नो स्पष्टोक्ति दिएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले प्रदर्शनकारीहरू उग्र रूपमा प्रस्तुत भएपछि बाध्य भएर नियन्त्रणका उपाय अपनाइएको बताए।
उनका अनुसार तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पहिलोपटक मध्यान्ह १२ बजेर ५० मिनेटमा अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि भिड झन् उग्र बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेटमा पहिलो गोली प्रहार गर्नुपरेको उनले बताए।
प्रहरीका अनुसार प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लङ्घन गरेपछि स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा पुगेको थियो। प्रवक्ता आचार्यले प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले भिडलाई संसद् भवनतर्फ अघि बढ्न उक्साएपछि परिस्थिति झन् गम्भीर बनेको बताए।
तीनकुने घटनामा २ महिला र १८ पुरुषसहित २० जना गोली लागेर घाइते भएका छन्। प्रहरीले उक्त दिन जम्मा ५८ राउन्ड गोली, ७४६ राउन्ड अश्रुग्यास तथा १९२ पटक ब्ल्याङ्क फायर गरेको प्रवक्ता आचार्यले जानकारी गराए।
प्रहरीका अनुसार निषेधित क्षेत्रबाट हटाइएपछि मञ्चबाट दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले प्रदर्शनकारीलाई संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न निर्देशन दिएको समेत पुष्टि भएको छ। यी निर्देशनपछि भिड झन् उत्तेजित बनेर तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ।


























