पोखरा, २१ चैत्र। नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हात पार्दै ‘पूर्णबहादुरको सारङ्गी’ ले बक्स अफिसमा ४६ करोड ८० लाखको ग्रस व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस चलचित्रले न केवल २०८१ सालमा सर्वाधिक कमाइ गरेको चलचित्रको पहिचान बनायो, बरु नेपाली चलचित्रको इतिहासमै एउटा विशेष स्थान ओगट्न सफल भयो।

ग्रामीण परिवेश र सामाजिक यथार्थ प्रस्तुत गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको मन जित्न सफल भयो। चलचित्र समीक्षकहरूका अनुसार यस चलचित्रले नेपाली समाजमा व्याप्त यथार्थतालाई उजागर गर्दै सामाजिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाली चलचित्र उद्योग लामो समयसम्म सुस्ताइरहेको अवस्थामा यस चलचित्रले नयाँ उर्जा भर्ने काम गरेको छ। यसका साथै, नेपाली दर्शकलाई पुनः हलसम्म ल्याउने वातावरण बनाउन पनि सफल भएको छ।

२०८१ साल नेपाली चलचित्रका लागि विशेष रह्यो। ‘पूर्णबहादुरको सारङ्गी’ मात्र नभई ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘होस्टेल ३’ र ‘अञ्जिला’ जस्ता चलचित्रले पनि उल्लेखनीय व्यापार गरे। अन्य प्रदर्शन हुन बाँकी चलचित्रहरू ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ प्रति दर्शकको ठूलो उत्साह देखिएको छ।

अभिनेता प्रदीप खड्काले यस वर्ष नेपाली चलचित्र उद्योगको यात्रा सुखद रहेको बताउँदै अन्त्य पनि उत्तिकै उत्साहजनक हुने विश्वास व्यक्त गरे। ‘विभिन्न विषयवस्तुमा आधारित चलचित्र प्रदर्शन भए, जसमा नयाँ अनुहारलाई दर्शकले स्वीकारे। यो सकारात्मक संकेत हो,’ उनले भने।

निर्देशक मिलन चाम्सले नाम चलेका कलाकारभन्दा चलचित्रको विषयवस्तुमा दर्शक आकर्षित हुनु सुखद रहेको उल्लेख गरे। ‘चलचित्रको कथा बलियो हुनुपर्छ, कलाकारभन्दा कथाले नै दर्शकलाई तान्न सक्छ। यसले नेपाली चलचित्रको गुणस्तर बढाउनेछ,’ उनले भने। चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ ले २० दिनमै ६ करोड ४५ लाखको व्यापार गरिसकेको छ।

नेपालको बक्स अफिस इतिहासमा एउटा छुट्टै स्थान बनाएको ‘पूर्णबहादुरको सारङ्गी’ को सफलता नेपाली चलचित्र उद्योगको भविष्यका लागि उत्साहजनक संकेत हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0