पोखरा, २१ चैत्र। पोखरा महानगरपालिका–२८ को सामाजिक सुरक्षा, जीविकोपार्जन कार्यक्रमको अवस्था र दीगो सामाजिक आर्थिक विकासका रणनीतिबारे शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले आफ्नो वडामा विकास र कृषिको अपार सम्भावना रहेको उल्लेख गर्दै, खानेपानी समस्या, बाँदर आतंकजस्ता चुनौतीहरूलाई सम्बोधन गर्दै दीर्घकालीन योजना अघि बढाइरहेको जानकारी दिए।
गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले यस्ता छलफलले आर्थिक गतिविधि र विकास निर्माणलाई टेवा पुर्याउने बताए। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा विभिन्न सम्भावनाबारे प्रशिक्षण दिएका थिए।
कोक्यापका अध्यक्ष वीरबहादुर किसानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य मनोहरि पौडेल, कृषि सञ्जाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारी, सहजकर्ता तथा अध्ययनकर्ता बबिन नेपाली लगायतले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रम संयोजक शुसिला न्यौपानेले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सहजकर्ता केशु भुजेलले गरेका थिए।































