पोखरा, २२ चैत्र। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले हालैको अश्रुग्यास प्रहारको विषयमा उठेका आशंकामाथि स्पष्टिकरण दिँदै म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका छन्। शुक्रबार बसेको संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले यस्तो दाबी गरेका हुन्।
समितिका सभापति रामहरि खतिवडाले बैठकमा म्याद गुज्रिएका अश्रुग्यास प्रयोग भएको भन्ने जनगुनासो आएको भन्दै प्रश्न राखेका थिए। जवाफमा आईजीपी थापाले त्यस्तो कुनै जानकारी नभएको स्पष्ट पार्दै भने, “म्याद गुज्रिएका अश्रुग्यास प्रयोग भएको भन्ने विषय कसरी आयो मलाई थाहा भएन। हामीले प्रयोग गरेका अश्रुग्यास मौज्दातमा रहेका, वैध र सुरक्षात्मक मापदण्ड अनुसारका हुन्।”
उनले थपे, “म्याद नाघेका अश्रुग्यासलाई नष्ट गर्ने प्रक्रिया हामीले नियमित रूपमा अपनाउँदै आएका छौं। वर्तमानमा प्रयोग भएको कुनै पनि ग्यास म्याद नाघेको छैन।”
हालै काठमाडौंमा आन्दोलनरत शिक्षक र अन्य प्रदर्शनकारीमाथि प्रहरीले प्रयोग गरेको बल प्रयोग, विशेष गरी अश्रुग्यासको विषयमा नागरिक तथा विभिन्न पक्षबाट आलोचना भएको थियो। त्यही आलोचनाको सन्दर्भमा संसदमा प्रश्न उठाइएको हो।
आईजीपी थापाको जवाफले प्रहरी प्रशासनले प्रयोग गर्ने सामग्रीहरूको नियमित निरीक्षण र नवीकरण भइरहेको जनाए पनि सांसदहरू भने अझ विस्तृत विवरण माग गर्नुपर्ने पक्षमा देखिएका छन्।
सार्वजनिक स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले म्याद गुज्रिएका रासायनिक सामग्री प्रयोग गर्नु खतरनाक मानिने भएकाले यो विषयमा निरन्तर निगरानी आवश्यक रहेको समितिका केही सदस्यहरूको भनाइ थियो।


























