पोखरा, २३ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न प्रहरी बिना कुनै कागजात घरमा प्रवेश गरेको आरोप लगाएका छन्। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले शनिबार बिहान पक्राउपूर्व जारी गरिएको भिडियो सन्देशमा आफ्नो गिरफ्तारी प्रक्रियामा गम्भीर आशंका व्यक्त गरेका हुन्।

उनले भनेका छन्, “मेरो घरभित्र प्रहरी छिरेको छ, बेडरूमसम्म आएको छ। तर, मलाई कुनै कागज दिइएको छैन।” लामिछानेले कानुनको सम्मान गर्ने आफ्नो अडान स्पष्ट पारे पनि प्रक्रियागत रूपमा आफूप्रति अन्याय भएको उल्लेख गरेका छन्। उनले प्रहरीको यस्तो गतिविधिले शंका सिर्जना गरेको भन्दै आफूलाई अपराधी सरह व्यवहार गरिएको गुनासो गरेका छन्।

“कुनै अपराध नगरेको भए पनि मलाई संसारकै सबैभन्दा ठूलो अपराधी जस्तो व्यवहार गरिएको छ,” उनले भने। आफू सधैं न्यायको पक्षमा रहेको र अन्तिम सास रहुञ्जेल न्यायका लागि लड्ने प्रण गर्दै लामिछानेले यो सम्पूर्ण घटनालाई राज्य आतंकको संज्ञा दिएका छन्। साथै, उनले चितवनमा तय भएको पार्टीको कार्यक्रमलाई यथावत् रूपमा निरन्तरता दिन कार्यकर्तालाई आह्वान गरेका छन्।

लामिछानेले आफ्नो राजनीतिक संघर्ष जारी रहने बताउँदै मतपत्रमा घण्टी चुनाव चिन्ह रहने कुरामा स्पष्टता दिएका छन्। यसै सन्दर्भमा उनले देश र जनताको पक्षमा बोल्नुको परिणाम स्वरूप आफू निशानामा परेको आशंका पनि व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0