पोखरा, २३ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गर्न लागेको ‘जनयात्रा’ शुभारम्भ सभा स्थगित नहुने भएको छ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीको मुद्दामा पक्राउ परे पनि शुक्रबार राति बसेको आकस्मिक सचिवालय बैठकले पूर्वघोषित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।
सभापति लामिछाने पक्राउ पर्नुअघि नै सभालाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। सोहीअनुसार उनले पार्टीको नियमित कार्य सञ्चालनका लागि उपसभापति डीपी अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छन्। रास्वपाले आज दिउँसो २ बजे चितवनको भरतपुरमा हुने जनयात्रा शुभारम्भ सभालाई भव्य, सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जनाएको छ।
सचिवालय बैठकले सभामा अवाञ्छित घुसपैठ, बिथोल्ने प्रयास र अन्य अवरोध रोक्नका लागि सबै कार्यकर्तालाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिएको छ। पार्टीले कार्यक्रमलाई राजनीतिक दवावको सन्देश स्वरूप अघि बढाउने तयारी गरेको छ।
सभापति लामिछानेलाई शुक्रबार तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि राति नै प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई आज भैरहवा पुर्याउने तयारी भइरहेको छ।
पार्टीभित्र आन्तरिक नेतृत्व व्यवस्थापन गर्दै बाह्य सन्देश दिन रास्वपाले जनयात्रा अभियानलाई निरन्तरता दिएको हो। हालको अवस्थालाई लिएर रास्वपाका नेताहरूले जनतामाझ स्पष्ट सन्देश पुर्याउने उद्देश्यसहित सभा सफल बनाउने तयारी गरेका छन्।



























