पोखरा, २३ चैत्र। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल शुक्रबार पाल्पा अस्पताल निरीक्षणका लागि निर्धारित कार्यतालिका अनुसार तोकिएको समयभन्दा साढे तीन घण्टा ढिलो पुग्दा अस्पताल प्रशासन, कर्मचारी र व्यवस्थापन समितिमा निराशा छाएको छ। दोस्रो तानसेन महोत्सवको समुद्घाटनपछि दिउँसो ३ बजे अस्पताल पुग्ने कार्यक्रम तय भए पनि मन्त्री साँझ ६ बजेर ४० मिनेटमा अस्पताल पुगेका थिए।
उनको उपस्थितिका लागि तीन बजेदेखि नै अस्पताल प्रशासन तयारी अवस्थामा थियो। व्यवस्थापन समितिका अध्यक्षदेखि कर्मचारीहरुसम्म मन्त्रीलाई स्वागत गर्न तीन घण्टा प्रतिक्षा गरे। तर मन्त्रीले अस्पतालको निरीक्षणमा जम्मा पाँच मिनेट मात्रै समय खर्चिएपछि सबैको आशा अधुरो रह्यो।
कर्मचारीहरुले मन्त्रीबाट पुराना भौतिक संरचना, विशेषज्ञ डाक्टरको व्यवस्था तथा अस्पतालको आवश्यक जग्गा व्यवस्थापनबारे गम्भीर सम्बोधन हुने अपेक्षा गरेका थिए। तर मन्त्रीको निरीक्षणलाई ‘आगो लिन आए जसरी’ भनेर टिप्पणी गर्दै उनीहरुले मन्त्रीको दौडधुपप्रति असन्तुष्टि जनाएका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले समयको अभावका कारण विस्तृत छलफल हुन नसकेको स्वीकार गरे। तर मन्त्रीले अस्पतालको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएपछि अब केही समाधानको बाटो खुल्ने आशा गरिएको उनले बताए।




























