पोखरा, २८ चैत्र। सङ्क्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिले आवेदन आह्वान गरेको छ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सर्च कमिटीले बुधबार बसेको तेस्रो बैठकमा १० दिनको समय निर्धारण गर्दै इच्छुक उम्मेदवारहरूबाट आवेदन माग्ने निर्णय गरेको हो।

सिफारिस समितिकी सदस्य तथा प्रवक्ता डा. लिली थापाका अनुसार चैत २८ गतेदेखि आवेदन दिने समय सुरु हुनेछ र त्यसका लागि बिहीबार नै सार्वजनिक सूचना प्रकाशित गरिनेछ। प्रारम्भमा सात दिनको समय निर्धारण गर्ने सोच भए पनि समय अल्प हुने भन्दै समितिले १० दिनको समय दिने निर्णय गरेको हो। सो अवधिमा प्राप्त आवेदकमध्येबाट सर्टलिस्ट तयार पारिनेछ र त्यसपछि छनोट प्रक्रिया अघि बढ्नेछ।

समितिले आन्तरिक कार्यतालिका बनाई काम गरिरहेको बताइएको छ। उक्त अवधिमा समितिले सरोकारवाला पक्षसँग छलफल पनि गर्नेछ भने शुक्रबार द्वन्द्व पीडितहरूसँग प्रत्यक्ष संवादको तयारी गरिएको छ। बुधबारको बैठकमा पदाधिकारी छनोट प्रक्रियाको मस्यौदामा प्राप्त राय सुझावबारे सामान्य छलफल भएको थियो। चैत २६ गतेसम्म सुझाव मागिए पनि अपेक्षित प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।

११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो। समितिमा मिश्रका साथै पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की, स्टेला तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिका रूपमा डा. लिली थापा सदस्य छन्।

हाल दुवै आयोग पदाधिकारीविहीन छन् जसका कारण दशकसम्म चलेको सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाहरूमा छानबिन अघि बढ्न सकेको छैन। विस्तृत शान्ति सम्झौतापछि सुरु गरिएको न्यायिक प्रक्रिया अझै पूर्ण निष्कर्षमा पुगेको छैन। यसअघि गठन गरिएको सिफारिस समितिले समेत सिफारिस प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग प्रभावहीन बनेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0