पोखरा, ३१ चैत्र। गण्डकी मेडिकल कलेज (जीएमसी) पोखराका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनविरुद्ध आन्दोलन थालेका छन्। समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै उनीहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ती बाल्दै एक घण्टा धर्ना दिएका छन्। आन्दोलनको पाँचौं दिनमा प्रवेश गरिसकेको यो अभियान चिकित्सकहरुको अधिकारको सुनिश्चितताको लागि गरिएको बताइएको छ।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ गते सिंहदरबारमा बसेको आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुलाई सरकारी चिकित्सक सरह आठौं तहको ४८ हजार ७ सय मासिक भत्ता दिने निर्णय गरेको थियो। यसअघि देशभरिका चिकित्सकहरुको आन्दोलनकै कारण आयोगले उक्त निर्णय गरेको हो।
तर, आयोगको स्पष्ट निर्णयलाई GMC लगायतका केही निजी मेडिकल कलेजहरुले बेवास्ता गरेपछि फेरि आन्दोलन चर्किएको हो। GMCका डा. रवि लामिछानेका अनुसार सरकारकै निर्णय कार्यान्वयन नगरेपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको हो। मणिपाल मेडिकल कलेजका चिकित्सकसमेत समान मागसहित आन्दोलनमा उत्रिएका छन्।
मणिपालका डा. वामदेव पराजुलीले आफूहरुलाई मासिक १७ हजार रुपैयाँ मात्रै दिइएको भन्दै असन्तुष्टि जनाए। उनले केही मेडिकल कलेजमा मासिक २२ हजारसम्म दिइए पनि त्यो दर सरकारी मापदण्डभन्दा निकै कम भएको स्पष्ट पारे। आन्दोलनकारी चिकित्सकहरुले अब काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको जनाएका छन्।




























