काठमाडौं, ३१ चैत। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रक्रिया राजनीतिक असहमतिका कारण रोकिएको छ। गृहसचिव गोकर्णमणि दुवाडीले एक साता अघि गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा प्रवेश गरी बढुवा समितिको बैठक बस्ने तयारी गरेका थिए। तर, गृहमन्त्रीले विशिष्टीकृत पदमा बढुवा गर्दा प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्ने भन्दै प्रक्रिया रोकिएको हो।
बढुवाको अधिकार बढुवा समितिलाई भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकबीच व्यस्तताका कारण आवश्यक छलफल हुन नसकेको स्रोतको भनाइ छ। गृहसचिवले समितिको निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन नहुँदा प्रधानमन्त्रीसँग दूरी बढ्ने सन्देश पाएपछि बैठक बस्न सकेको छैन।
हाल प्रहरी संगठनमा प्रशासनतर्फ ८ एआईजी दरबन्दीमध्ये २ पद मात्र भरिएको छ। बाँकी ६ पदका लागि ११ जना डीआईजी प्रतिस्पर्धी छन्। तर, डीआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहमध्ये कसलाई अगाडि ल्याउने भन्ने विवादले प्रक्रिया जटिल बनेको छ। शाह राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुनाले केही पक्ष उनलाई भावी नेतृत्वमा लैजान नहुने पक्षमा छन्।
प्रहरी संगठन ‘चेन अफ कमान्ड’मा सञ्चालन हुने भए पनि अहिले पाँच प्रमुख विभागहरू डीआईजीको नेतृत्वमा चलिरहेका छन्। आईजीपी दीपक थापाले २६ दिन अघि कार्यभार सम्हाले पनि उनले अपेक्षित रूपमा सहयोगी एआईजीहरूको टिम बनाउन नपाएका कारण संगठन सञ्चालनमा अप्ठ्यारो देखिएको छ।
यसबीचमा एआईजी बढुवा रोकिँदा एसएसपीबाट डीआईजी बढुवासमेत रोकिएको छ। जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत एसपीहरूको कार्यकाल सकिए पनि सरुवा हुन सकेको छैन। एसपी सरुवा गर्ने अधिकार आईजीपीसँग भए पनि राजनीतिक दलको चासोका कारण प्रक्रिया प्रभावित भएको बताइएको छ।
आईजीपी थापाले संगठनको नेतृत्व सम्हालेकै दिन राजनीतिक हस्तक्षेपविना काम गर्ने प्रतिबद्धता जनाएका थिए। तर, बढुवा र सरुवा प्रक्रिया थाल्न नसक्दा उनले पहिलो चुनौतीमा सफलता देखाउन सकेका छैनन्।































