पोखरा, ३१ चैत्र। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा एकपछि अर्को गर्दै लगाइएका उच्च महसुलका कारण चीनका निर्यातकर्ताहरू गम्भीर संकटमा परेका छन्। सुरुमा १० प्रतिशत अतिरिक्त महसुलले थोरै असर महसुस गरे पनि पछिल्ला निर्णयहरूले चिनियाँ व्यवसायीहरूलाई अमेरिकासँगको व्यापार नै त्याग्न बाध्य पारेको छ।

नेब्रास्कास्थित एक स्नो-बाइक कारखानामा उत्पादन पठाउँदै आएका झोउ गोउचिङजस्ता अनुभवी निर्यातकर्ताले व्यापारको सम्भावना गुमाउँदै गएको बताएका छन्। शुरुवाती महसुलपछि नाफा घटाएर छुट दिने रणनीतिमा लागेका झोउले १४५ प्रतिशत महसुलपछि भने अमेरिकी बजार नै छोड्ने निर्णय लिनुपरेको बताएका छन्। उनका अनुसार, जबसम्म अमेरिका र चीनबीच संवाद हुँदैन्, तबसम्म निर्यात असम्भवजस्तै छ।

अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशतसम्म महसुल लगाएको छ भने चीनले जवाफमा १२५ प्रतिशत महसुल घोषणा गरेको छ। यसले दुई राष्ट्रबीचको व्यापारिक सम्बन्धलाई समाप्तिको दिशामा धकेलेको विश्लेषण विज्ञहरू गरिरहेका छन्। हङकङ विश्वविद्यालयका प्राध्यापकहरूका अनुसार, यदि यस्ता नीतिहरू अझै लामो समय कायम रहे भने अमेरिका–चीन आर्थिक सम्बन्ध पूर्ण रूपमा विच्छेदमा पुग्न सक्छ।

ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही वस्तुमा महसुल छुट दिएको भए पनि अधिकांश सामानमा कठोर महसुलले व्यापार बाधित भएको छ। अमेरिकी व्यवसायीहरू वैकल्पिक आपूर्ति स्रोत खोज्न थालेका छन् भने चिनियाँ व्यवसायीहरूले युरोप, अष्ट्रेलिया जस्ता बजारतर्फ ध्यान दिइरहेका छन्। तर, युरोपमा समेत मन्दीको असर परेको उनीहरू बताउँछन्।

चीनको विदेश मन्त्रालयले अमेरिका स्थिर व्यवहारतर्फ फर्किए मात्रै वार्ता सम्भव हुने जनाइसकेको छ। अर्कोतर्फ अमेरिकी विश्लेषकहरूले ट्रम्पको वास्तविक माग के हो भन्ने अझै स्पष्ट नभएको बताइरहेका छन्। यसैबीच, चीनका केही व्यवसायीहरूले उत्पादन संयन्त्र चीनबाहिर सार्न थालिसकेका छन्।

तर केही निर्यातकर्ताहरू अझै पनि अमेरिकी बजारलाई आशाको रूपमा हेर्दै इन्द्रेणीको प्रतीक्षा गरिरहेका छन्। उनीहरू भन्छन्— अमेरिकी बजार विश्वासिलो छ, तर अस्थिर नीतिले सबैको भविष्य अन्योलमा पारेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0