पोखरा, ३१ चैत्र। नयाँ वर्षको अवसर पारेर एक्सन शैलीको नेपाली फिल्म ‘पिताम्बर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। अभिनेत्री तथा निर्देशक कृषा चौलागाईंको निर्देशनमा बनेको यो फिल्मले लामो समयपछि एक्सन जनरालाई सशक्त रूपमा नेपाली पर्दामा ल्याउने तयारी गरेको छ। राजधानीमा मंगलबार आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा निर्देशकदेखि कलाकारहरूसम्मले फिल्मका अनुभव साझा गरेका थिए।

निर्देशक कृषा चौलागाईंले आफूलाई मनपर्ने एक्सन शैलीमा निर्देशन गर्दा आफूले त्यो मर्मलाई गहिरो रूपमा समेट्ने प्रयास गरेकी बताइन्। अभिनेता प्रदीप खड्काले फिल्मका लागि शारीरिक र मानसिक रूपमा तयारी गरेर अभिनयमा आफूलाई ढाल्नुपरेको उल्लेख गरे। उनले एक्सन शैलीमा नयाँपन खोज्ने सोचले गर्दा फिल्ममा काम गर्न इच्छुक भएको बताए।

फिल्मका अर्का प्रमुख कलाकार सौगात मल्लले ‘पिताम्बर’ आफ्नो अघिल्ला फिल्मभन्दा धेरै हिसाबले फरक रहेको बताए। कथावस्तु, सोच, परिस्थिति र भूमिका सबै फरक रहेको उल्लेख गर्दै उनले आफ्नै जन्मथलो परासीमा छायांकन भएकाले व्यक्तिगत रूपमा पनि फिल्म विशेष रहेको बताए। अभिनेता प्रमोद अग्रहरीले फिल्ममा आफ्नै ठाउँमा सुटिङ भएकाले थप जिम्मेवारी महसुस भएको बताए।

फिल्मकी प्रमुख अभिनेत्री दिव्या रायमाझीले आफ्नो भूमिका सशक्त भएको बताउँदै स्क्रिप्ट प्राप्त गरेको तीन दिनमै मिहिनेतपूर्वक अभिनय प्रस्तुत गरेकी थिइन् भने सुपुष्पा भट्टले अहिलेसम्म नगरेको खालको भूमिका भएकाले फिल्म चुनौतीपूर्ण भए पनि रमाइलो अनुभव रहेको बताइन्।

फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, कामेश्वर चौरासिया, गौरव विष्ट र विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ। पिताम्बरमा प्रदीप भारद्वाजको लेखन, हिमाल केसीको द्वन्द्व र पुरूषोत्तम प्रधानको छायांकन रहेको छ। विशाल चौलागाईंको निर्माणमा बनेको फिल्म केपी फिल्म्स र पुरूषोत्तम प्रधान फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0