पोखरा, ३ वैशाख। सरकारले नेपाल शिक्षक महासंघले अघि सारेका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने विषयमा गम्भीरता देखाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले संवाद निरन्तर जारी रहेको जानकारी दिँदै थप संवादका लागि सरकार संवेदनशील र तत्पर रहेको बताइन्।

उनले शिक्षकहरूद्वारा जारी प्रदर्शनप्रति मन्त्रिपरिषद्को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, उठाइएका मागहरूमध्ये यथोचित मागहरूको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारिन्।

मन्त्री भट्टराईले अहिलेको समय शैक्षिक हिसाबले अति संवेदनशील रहेको उल्लेख गरिन्। एसइईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को राष्ट्रिय परीक्षा र नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना भइरहेका बेला भएकोले सरकारले अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रमहरू स्थगन गर्न आग्रह गरेको हो।

सरकारले सम्पूर्ण शिक्षकहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्कन अनुरोध गर्दै समस्याहरूको समाधान वार्ता र समन्वयमार्फत खोजिने विश्वास व्यक्त गरेको छ। उनले शिक्षा क्षेत्रलाई निष्कलंक राख्न सबै पक्षबाट संयम र सहकार्य अपेक्षित रहेको पनि बताइन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0