पोखरा, ३ वैशाख। संघीय संसदको आगामी बजेट अधिवेशन यही वैशाख १२ गते आह्वान गरिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद्को अधिवेशन बोलाउने निर्णय भएको छ।
सरकारले चालु आर्थिक वर्षको बाँकी समयका महत्वपूर्ण विधेयकहरू पारित गर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारीस्वरूप संसद अधिवेशन बोलाउन लागेको बताइएको छ। यसपटकको अधिवेशनमा लामो समयदेखि विवादित बनेको विद्यालय शिक्षा विधेयक लगायतका महत्वपूर्ण विधेयकहरूलाई प्राथमिकताका साथ अगाडि बढाइने अनुमान गरिएको छ।
सरकारले बजेट अधिवेशनमार्फत शिक्षक आन्दोलनको पृष्ठभूमिमा रहेका विषय, शिक्षा सुधार, नीति तथा बजेटसम्बन्धी बहसलाई पनि समेट्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।




























