वसन्त ऋतुको आगमनसँगै नेपालमा पर्यटनको मुटुका रूपमा रहेको हिमाली क्षेत्र पुनः जुर्मुराउन थालेको छ। यतिबेला सगरमाथा लगायतका उच्च हिमशृंखलालाई छुन, आधारशिविरसम्म पुग्न वा केवल टाढैबाट दर्शन गर्न हजारौं पर्यटक नेपाल आइरहेका छन्। नेपालले पाएको प्रकृतिको अनुपम उपहारमध्ये हिमाल न केवल देशको पहिचान हो, यो नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि हो।

पर्यटन विभागका अनुसार हालसम्म १७ वटा हिमालमा ५४ समूहका ४९७ जनाले आरोहणको अनुमति लिइसकेका छन्, जसमा अधिकांश विदेशी नागरिक छन्। सगरमाथा आरोहणका लागि मात्रै २२ समूहका २१४ जना पर्यटकले अनुमति लिएका छन्। यिनले ल्याउने विदेशी मुद्राको मात्र कुरा होइन, नेपालमा बस्ने औसत १३.२ दिनको अवधि हिमाली पदयात्रा र पर्वतारोहणकै कारण सम्भव भएको हो।

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार सगरमाथा आरोहण गर्न आएका पर्यटकको औसत बसाइ अवधि ६० दिनसम्म हुने गर्छ, जुन नेपालमा पर्यटन व्यवसाय विस्तार गर्न एक सशक्त आधार हो। पदयात्रा र पर्वतारोहणको प्रभाव स्थानीय अर्थतन्त्रदेखि केन्द्रसम्म देखिन्छ।

सन् १९५० मा अन्नपूर्ण चुचुरो र सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहणपछि नेपालले विश्व पर्यटन नक्सामा आफ्नो पहिचान बनाएको हो। त्यसयता ९ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। यिनले भित्र्याउने विदेशी मुद्रा, रोजगारीको अवसर, सेवा क्षेत्रमा भएको विस्तार, हवाई र होटल उद्योगको विकास आदिले हिमाली पर्यटनको योगदानलाई स्पष्ट गर्छ।

आर्थिक वर्ष २०८०/८१ मा पर्वतारोहणबाट मात्रै सरकारलाई ७७ करोड रुपैयाँ रोयल्टी प्राप्त भयो, जसको ठूलो हिस्सा सोलुखुम्बुको खुम्ब पासाङल्हामु गाउँपालिकाले पायो। यसले देखाउँछ कि हिमालले न केवल विदेशी मुद्रा भित्र्याउँछ, स्थानीय तहको बजेटसमेत मजबुत बनाउँछ। आरोहणका लागि आवश्यक सेवा, सहयोगी कामदार, गाइड, होटल व्यवसायी, यातायात तथा हवाई सेवा प्रदायक सबैको आर्जन यसै क्षेत्रमा निर्भर छ।

सरकारले सन् २०२५ सेप्टेम्बरदेखि नयाँ रोयल्टी दर लागू गर्दैछ, जसअनुसार सगरमाथा आरोहणको शुल्क ११ हजार डलरबाट १५ हजार डलरसम्म बढ्नेछ। यसले राज्यको आम्दानीमा वृद्धि गर्नेछ, तर त्योसँगै आरोहणलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने दायित्व पनि सरकारको काँधमा आएको छ।

हवाई सेवा र आतिथ्य उद्योगमा हिमाली पर्यटनको प्रभाव अतुलनीय छ। आरोहण सिजनमा हेलिकप्टरको माग उच्च हुन्छ, पाँचतारे होटलदेखि ग्रामीण चियापसलसम्म चहलपहल बढ्छ। यी सम्पूर्ण गतिविधिबाट आम्दानी सीधै किसानदेखि गाइड र शेर्पासम्म पुग्छ।

यद्यपि हिमाली पर्यटन केवल आम्दानीको स्रोत मात्र होइन, यो नेपालको पहिचान हो। यसलाई दीर्घकालीन, दिगो र पारदर्शी बनाउनु आवश्यक छ। पर्वतारोहणमा बढ्दो व्यावसायिकीकरण, व्यवस्थापनको कमजोरी र भ्रष्टाचारले यस क्षेत्रको छवि धमिल्याउन सक्छ।

त्यसैले अबको ध्यान मात्र संख्यात्मक वृद्धिमा होइन, गुणस्तरीय सुधारमा केन्द्रित हुनुपर्छ। हिमाली पर्यटनलाई पर्यावरणसँग सन्तुलनमा राख्दै, स्थानीय जनताको सहभागिता र लाभ सुनिश्चित गर्दै, नेपाललाई विश्वकै शीर्ष साहसिक गन्तव्यको रूपमा थप सुदृढ बनाउन आवश्यक छ।

हिमाल नेपालको गौरव हो, त्यसको संरक्षण र व्यवस्थापनमा अब कुनै सम्झौता हुनुहुँदैन। पर्यटन नीतिमा स्पष्टता, कार्यान्वयनमा दृढता र अनुगमनमा पारदर्शिता आवश्यक छ। तबमात्र हिमालले नेपाली अर्थतन्त्रलाई दिगो ढंगले टेवा दिन सक्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0