पोखरा, ११ वैशाख। नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएपछि केही दिन सहज देखिएको विद्युत् आपूर्ति पुनः अवरुद्ध भएको छ। भारतले सुरुमा चार घण्टा विद्युत् थप गरेको भए पनि ऊर्जा, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणकै बेला फेरि आपूर्ति रोकिएको हो। भारतीय पक्षले माग उच्च भएको जनाउँदै आपूर्ति घटाएको बताइए पनि नेपाली पक्षको कूटनीतिक कमजोरीसमेत यसमा देखिएको छ।
ऊर्जा मन्त्री दीपक खड्काले खट्टरलाई ५०० मेगावाट विद्युत् एक महिनाका लागि उपलब्ध गराउन आग्रह गरे पनि सहमति जुटाउन नसकेको प्राधिकरण स्रोतको भनाइ छ। उद्योगीहरूका अनुसार भारतले केही समय दिएको विद्युत् फेरि रोकिएपछि पूर्वी तथा मध्यम तराईका उद्योगहरू लोडसेडिङमा फसेका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी तथा लुम्बिनी प्रदेशका पदाधिकारीहरूले बेलुका पाँचपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
भारतबाट हाल ६० देखि ७० मेगावाट मात्र आयात भइरहेकाले कटौती बढेको प्राधिकरणले जनाएको छ। जलाशययुक्त आयोजना नहुँदा जडित ३५ सय मेगावाट क्षमताको उत्पादन पनि हिउँदमा घटेर एक हजार मेगावाट हाराहारीमा सीमित हुने समस्या समाधान गर्न नसकिएको हो। चालु आर्थिक वर्षमा थपिएको ३५५ मेगावाट विद्युत् पनि सबै नदी प्रवाही आयोजना भएकाले हिउँदमा उपयोगिता कम छ।
अहिलेसम्म पनि भारतबाट ढल्केबर–मुजफ्फपुर, टनकपुर र अन्य सिमानाका प्रसारण लाइनमार्फत् आयातमा निर्भर रहनु परेको छ। भारतबाट आपूर्ति नहुँदा हिउँदमा प्रत्येक वर्ष दोहोरिने लोडसेडिङको मार यस वर्ष पनि उस्तै भएको छ। उद्योगीहरूले समस्याको समाधान कूटनीतिक पहलबाट मात्र सम्भव हुने भन्दै राज्य गम्भीर नभएको आरोप लगाएका छन्।





























