पोखरा, ११ वैशाख। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण विद्युत् माग अत्यधिक बढेपछि नेपाल विद्युत् प्राधिकरण विद्युत् आपूर्तिमा समस्या भोगिरहेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले आपूर्ति र मागबीच सन्तुलन कायम गर्न नसकिएको जनाउँदै औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपरेको जानकारी दिएको हो।

सुक्खा मौसमका कारण नदी तथा खोलानालामा पानीको बहाव घटेको र त्यसले जलविद्युत् उत्पादनमा प्रतिकूल असर परेको प्राधिकरणले स्पष्ट पारेको छ। हाल देशभित्र जलाशय तथा सौर्य ऊर्जालगायत गरी औसतमा एक हजार १७५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ भने उच्चतम माग दुई हजार ७७ मेगावाट पुगेको बताइएको छ।

भारतबाट आयात गरिने विद्युत्मा समेत समस्या देखिएको प्राधिकरणको भनाइ छ। मैनैया–सम्पतिया १३२ केभी लाइनबाट सीमित मात्रामा आपूर्ति भइरहेको र ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मार्फत प्रयास गर्दा पनि प्रो–रेट आधारमा मात्रै विद्युत् प्राप्त भइरहेकाले आपूर्ति अपर्याप्त भएको जनाइएको छ।

प्राधिकरणले केही औद्योगिक क्षेत्रहरूमा अस्थायी रूपमा लोड कटौती गरिएको र निकट भविष्यमै नदीको बहाव तथा भारतबाट आपूर्ति सुधारिने अपेक्षा गरिएकोले समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0