पोखरा, १२ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक हुनु अघि नै सञ्चारमाध्यममा सूचना चुहाउने मन्त्रीविरुद्ध कारबाहीको माग गरेका छन्। काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त मन्त्रीलाई आफूले पहिचान गरिसकेको पनि खुलासा गरे।

गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने समाचार मन्त्रिपरिषद् बैठक सकिनुभन्दा १८ मिनेटअघि नै अनलाइनमा प्रकाशित भएको उदाहरण दिँदै, मन्त्रीहरूलाई बैठकमा मोबाइल बाहिर राख्न आग्रह गरेको बताए। उनले यस्ता सूचना चुहाउने कार्यले सरकारको निर्णयप्रक्रियामै असर पार्ने भएकाले प्रधानमन्त्रीसमक्ष सो मन्त्रीलाई कारबाही गर्न सुझाव दिएको पनि जानकारी गराए।

मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू कहिलेकाहीं फिर्ता लिनुपर्ने परिस्थिति आउने भएकाले २४ घण्टा नबितेसम्म सार्वजनिक नगर्ने निर्णय भएको स्पष्ट पारे। उनले आफू प्रवक्ताको हैसियतमा सरकारको निर्णय सार्वजनिक गर्न मात्र जिम्मेवार रहेको उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0