पोखरा, १३ वैशाख। नेपाली हरर थ्रिलर चलचित्र ‘खेल’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र नेपालभरका सात दर्जनभन्दा बढी चलचित्रघरहरूबाट एकैसाथ रिलिज गरिएको हो। नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानको संयोजनमा निर्माण गरिएको यस चलचित्रले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

चलचित्रमा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी र किरण श्रेष्ठको शीर्ष भूमिका रहेको छ। निर्देशन अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त रहेको छ भने चलचित्रको कथा आशिष राज महर्जनले लेखेका हुन्। पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन्।

यसअघि वेभ सिरिजका रूपमा चार भागमा निर्माण गरिएको ‘खेल’लाई निर्माण टिमले पुनः सम्पादन गरी चलचित्रको रूपमा प्रदर्शनमा ल्याएको हो। प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाले निर्माण पक्षलाई उत्साहित बनाएको निर्देशक अनुराग प्रधानले बताए।

चलचित्रकी प्रमुख कलाकार सुरक्षा पन्तले नेपालमै अन्तर्राष्ट्रिय स्तरको हरर चलचित्र बन्न सक्छ भन्ने उदाहरण ‘खेल’ले दिएको उल्लेख गरिन्। उनले नेपाली युवाको परिश्रम र सिर्जनशीलताले यो चलचित्र सफल हुने विश्वास व्यक्त गरिन्।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको ‘खेल’का निर्माता लुइस राज महर्जन र आशिष राज महर्जन हुन्। सह–निर्मातामा कुमाल राज गुरुङ र रहिश राज महर्जन छन्। छायांकन रोशन राई र सञ्जय लामाले गरेका हुन् भने सम्पादन आशिषराज महर्जनको रहेको छ।

यस चलचित्रको ध्वनि डिजाइन विकल प्रधान, रंग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने वितरणको जिम्मा डिसिएनले लिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0