पोखरा, १३ वैशाख। पोखराको काँहुडाडा, कृस्ती, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान क्षेत्रका बासिन्दालाई लक्षित गरी तीन ठूला खानेपानी आयोजना कार्यान्वयनमा ल्याइने भएको छ। लागत साझेदारीमा सञ्चालन हुने यी आयोजनाका लागि संघीय, स्थानीय र उपभोक्ता समिति बीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना तथा जलवायु अनुकूलित काँहुधरहरा आयोजना सञ्चालनका लागि पोखरा–२१ र ३३ मा परियोजना सञ्चालन हुने जनाइएको छ।
महानगर प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा संघीय आयोजनातर्फ पदमबहादुर कुँवर क्षेत्री, महानगरबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका हुन्। चालु आर्थिक वर्षबाटै कार्यान्वयनमा लैजाने तयारीसँगै संघीय आयोजनाले टेन्डर आह्वान गरिसकेको छ।
बृहत् भरतपोखरी, निर्मलपोखरी र कृस्ति आयोजना अन्तर्गत पोखरेल थोकमा पानी प्रशोधन केन्द्र बनाइनेछ। ३५ किलोमिटर पाइप विस्तार गरी करिब २४ सय घरधुरीमा पानी पुर्याइनेछ। यसमा ११ वटा विभिन्न क्षमताका ट्यांकी निर्माण हुनेछन्। काँहुधरहरा आयोजनाले १७ किमी पाइपमार्फत १५ सय घरधुरीलाई सेवा दिनेछ भने मट्टीखान आयोजनाले सेती खोलाबाट पानी पम्पिङ गरी स्याङ्जा हुँदै मट्टीखान पुर्याउनेछ।
यी आयोजनाको कुल लागत १ अर्ब २९ करोडभन्दा बढी छ। संघीय सरकारले ९० प्रतिशत र पोखरा महानगरपालिकाले १० प्रतिशत लागत व्यहोर्नेछ। आयोजनाको कार्यान्वयन मितिबाट ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसबाट झण्डै पाँच हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।































