पोखरा, १३ वैशाख। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक पारित गर्ने स्पष्ट कार्यसूची तय गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन्। ती विधेयकहरू हाल संसदका सम्बन्धित समितिमा छलफलरत छन्, जसका कारण संसदमा छलफल अघि बढ्न सकेको छैन। सभामुखले समितिको प्रतिवेदन आएलगत्तै ती विधेयक संसदबाट पारित गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन्।
बजेट अधिवेशनको चापलाई दृष्टिगत गर्दै सभामुख घिमिरेले शनिवार र सार्वजनिक बिदाबाहेकका दिन संसद सञ्चालन गरी महत्त्वपूर्ण विधेयक टुंग्याउने गृहकार्य सुरु गरेका छन्। संसदको आगामी क्यालेन्डरमा नीति तथा कार्यक्रम र बजेट सत्रको बीचमा विधेयक छलफलका लागि समय सुरक्षित गरिएको जानकारी संसद सचिवालयले दिएको छ।
शुक्रबारबाट सुरु भएको प्रतिनिधि सभाको छैटौं अधिवेशनका अवसरमा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन सबै सांसदहरूको साझा प्रतिबद्धता आवश्यक रहेको बताए। उनले कानुन निर्माणलाई संसदको प्रमुख जिम्मेवारीका रूपमा औंल्याउँदै समयमै कानुन नबन्दा उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक विधेयक पारित गर्नुपर्ने धारणा राखे।
सभामुख घिमिरेले संसद जनताको आवाज प्रतिनिधित्व गर्ने थलो भएकोले यहाँ राष्ट्रिय मुद्दामा बहस हुनु पर्ने र जनताको चाहना अनुसार निर्णय लिनु पर्ने बताए। उनले बजेट अधिवेशनलाई सरकारको नीति, कार्यक्रम र बजेट मात्र नभई आवश्यक कानुन निर्माणका हिसाबले पनि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
संसदको प्रभावकारिता अभिवृद्धि भए मात्र लोकतन्त्र सुदृढ हुने, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली स्थापित हुने विश्वास सभामुखले व्यक्त गरे। उनले सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिका लागि प्रभावकारी संसद आवश्यक भएको उल्लेख गर्दै अधिवेशन सफल बनाउन सबैको सहयोग मागेका छन्।



























