पोखरा, १३ वैशाख। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत गण्डकी प्रदेशस्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी आयोजना गरिने भएको छ। गण्डकी प्रदेशका विभिन्न जातजातिका मौलिक संस्कृतिको झल्को दिने गरी झाँकी कार्यक्रमको तयारी भइरहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ।
प्रदर्शनीमा सहभागी हुने समूहहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। आयोजकका अनुसार प्रथम स्थान हासिल गर्ने समूहलाई रु. ३१,१३१ नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ। दोस्रो हुनेलाई रु. २५,५२५, तेस्रो हुनेलाई रु. २१,१२१ र चौथो स्थान प्राप्त गर्ने समूहलाई रु. १५,५१५ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने व्यवस्था गरिएको छ।
कास्की जिल्लाबाहिरबाट आउने सांस्कृतिक टोलीका लागि आवतजावतको बस भाडा समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ। झाँकी प्रतियोगितामा सहभागी हुन चाहने समूहले सम्पर्क नम्बर ९८५६०३२४७३, ९७६३२५२१२१ र ९७०५२५२१२५ मार्फत आफ्नो समूहको नाम दर्ता गराउन सक्नेछन्।
महायज्ञको अवसरमा राष्ट्रिय भजन प्रतियोगिता र माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ। गण्डकी प्रदेशको सांस्कृतिक विविधता र सनातन परम्पराको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ।































