पोखरा, १४ वैशाख। पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ मा बैदम प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको विशेष उपस्थितिमा राष्ट्रभक्ति गीत प्रस्तुत गरिएको छ। मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित ४१ दिने यस महायज्ञले गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
प्रहरी नायब उपरीक्षक निरौलाको सहभागितासँगै प्रस्तुत राष्ट्रभक्ति गीतले महायज्ञको वातावरणमा राष्ट्रिय भावना थपिएको छ। उपस्थित भक्तजन र स्थानीय समुदायमा नयाँ उत्साह जागेको आयोजक समितिले जनाएको छ। महायज्ञमा दैनिक रूपमा हवन, कथा वाचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको महायज्ञमा, चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा सुरु गरिएको भागवत कथा प्रवचन पनि निरन्तर जारी छ। आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज र सुप्रिया किशोरीजस्ता राष्ट्रियस्तरका धर्मगुरुहरूको सहभागिता रहनेछ।
महायज्ञको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल भिडियो प्रतियोगिता समेत सञ्चालन गरिएको छ, जसमा उत्कृष्ट निर्माणकर्तालाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिनेछ। साधु–सन्त, धर्मगुरु, महिला समूह, जनप्रतिनिधि र स्वयंसेवकको सक्रिय उपस्थितिले महायज्ञलाई पोखरेली समाजको साझा उत्सव बनाएको छ।































