पोखरा, १४ वैशाख। सत्ता समीकरण परिवर्तनको हल्लाबीच प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँगको संवादपछि गठबन्धन स्थिर रहनेमा ढुक्क भएका छन्। उपचारका लागि बैंकक गएका देउवा शुक्रबार स्वदेश फर्किएपछि विमानस्थलमै गठबन्धनमा कुनै तलमाथि नहुने बताएका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओलीले देउवासँग फोन संवाद गरेका थिए, जसमा देउवाले सरकार ढाल्ने कुनै योजना नभएको स्पष्ट पारेका थिए। देउवाको आश्वासनपछि प्रधानमन्त्री ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार ढल्ने हल्ला आधारहीन भएको दाबी गरे।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले देउवाले फर्किएपछि नयाँ राजनीतिक समीकरण बन्ने संकेत दिएका थिए। कांग्रेसभित्र पनि ओलीको कार्यशैलीप्रति असन्तुष्टि देखिँदै आएको थियो। तर देउवाको फर्किएलगत्तै भएको संवादले सत्ता गठबन्धनमा कुनै खलल नपर्ने निष्कर्ष निकालिएको छ। ओलीले संसदीय दललाई सम्बोधन गर्दै सरकार ढल्ने चर्चा मात्र अफवाह भएको बताए। शनिबार साँझ बालुवाटारमा देउवा र ओलीबीच पुनः भेटवार्ता भएको थियो, जहाँ विशेषगरी शिक्षक आन्दोलन समाधान र दुई दलबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो।

छलफलमा गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त पनि सहभागी थिए। शिक्षक आन्दोलनसँगै आवासीय चिकित्सकको आन्दोलन र गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति कांग्रेसभित्र केही असन्तुष्टि रहेको भए पनि गठबन्धनमा तत्काल कुनै संकट नरहेको एमाले नेताहरूको दाबी छ। पदम गिरीले प्रधानमन्त्री ओलीले १५ महिनापछि स्वेच्छाले देउवालाई प्रधानमन्त्री बनाउने सहमति कायम रहेको भन्दै गठबन्धनप्रति कुनै शंका नगर्न आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0