पोखरा, १४ वैशाख। गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन तथा पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ सालको चैत्र १७ गतेदेखि सुरु भएको यो ४१ दिने महायज्ञ २०८२ सालको जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

मानव सेवा फाउण्डेशनको आयोजनामा भइरहेको महायज्ञमा हालै चर्चित कथा बाचिका देवी प्रतिभाजीले बिरौटा बजारको पैदल परिक्रमा गर्दै धार्मिक जागरणको सन्देश प्रवाह गरेकी छन्। भक्तिभाव र समर्पणले भरिएको उनको परिक्रमाले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा भर्ने काम गरेको छ।

महायज्ञको क्रममा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ भने चैत्र २९ गतेदेखि सुरु गरिएको भागवत कथा प्रवचन अहिले देवी प्रतिभाजीले निरन्तर सञ्चालन गरिरहेकी छन्। आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीजस्ता प्रतिष्ठित व्यक्तित्वहरूका प्रवचन पनि आयोजना गरिनेछ।

महायज्ञको प्रचारमा नविनताको प्रयोग गर्दै सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्ने सहभागीहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना रहेको छ। सहभागीहरूले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

साधु–सन्त, धर्मगुरु, ब्राह्मण, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिसमेतको सक्रिय सहभागिताले महायज्ञलाई पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित गरेको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिको संयोजनमार्फत यो महायज्ञले गण्डकी प्रदेशको धार्मिक पर्यटनमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0