पोखरा, १५ वैशाख। गण्डकी कोटिहोममा आज विशेष कार्यक्रमका साथ महायज्ञको औपचारिक सुरुआत गरिएको छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्ग र हवनकुण्ड तयार गरिएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएसँगै सुरु भएको ४१ दिन लामो महायज्ञले धार्मिक र सांस्कृतिक माहोल सजीव बनाएको छ।

भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर यज्ञमा सहभागी हुन आग्रह गरिएको छ। महायज्ञमा देवी प्रतिभा र अनुराधा पाण्डेयले कथा वाचन सुरु गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथा प्रवचन गर्दैछन्। कार्यक्रममा भजन, सत्सङ्ग, पूजापाठ, आरती र विभिन्न सांस्कृतिक प्रस्तुति निरन्तर आयोजना हुने छन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताले महायज्ञलाई अझ रोचक बनाएको छ।

देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित गरिँदै महायज्ञले सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रमुख दहालको उपस्थिति र देवी प्रतिभाको नेतृत्वमा गण्डकी कोटिहोमको यो प्रयास थप सशक्त भएको बताइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0