पोखरा, १९ वैशाख। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा वैशाख २० र २१ गते हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।
महासंघका अध्यक्ष वीर बहादुर बुढाथोकी मगरका अनुसार महाधिवेशनमा देशभरबाट ३५ जातीय घटक संघ, सातै प्रदेश महासंघ र ७० जिल्लाका महासंघबाट झण्डै ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्। महाधिवेशनमा राजनीतिक, सांगठानिक तथा विभिन्न प्रस्तावहरू पारित गरिने बताइएको छ।
अध्यक्ष मगरले संविधानमा सुनिश्चित अधिकारहरूको कार्यान्वयन गर्न वातावरण निर्माण गर्न माग गरे। उनले देशमा अराजक प्रवृत्तिहरू बढेको भन्दै त्यसलाई रोक्न राज्य जिम्मेवार बन्नुपर्ने चेतावनी दिए। संघीयताको मर्मअनुसार ऐन तथा कानुन निर्माणमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर ध्यान दिन उनले सरकारलाई आग्रह गरे।




























