पोखरा, १९ वैशाख। भारत–पाकिस्तानबीच पछिल्लो समय बढेको तनावको असर नेपालमा समेत देखिन थालेको छ। जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको हो। त्यसैको असरस्वरूप नेपालले भारतसँगको सिमा क्षेत्रको सुरक्षा थप कडाइ गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती तीव्र बनाएका छन् भने निगरानीसमेत बढाइएको छ। भारतबाट पाकिस्तानी नागरिकलाई निकाल्ने क्रम बढेपछि उनीहरूले नेपाल प्रवेश गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै शंका लागेका व्यक्तिको परिचयपत्र जाँचपछि मात्र प्रवेश दिन मातहतका निकायलाई निर्देशन दिइएको छ।

सीमा सुरक्षामा देखिएको यो सतर्कता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणसँग पनि जोडिएको देखिन्छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर सीमा सुरक्षाको विषयमा छलफल गरेका थिए। त्यसपछिनै निगरानी थप कडाइ गरिएको हो।

झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म सीमा जोडिएका जिल्लाहरूमा सुरक्षा निगरानी तीव्र पारिएको छ। मधेश प्रदेशमा मात्र ४६४ किलोमिटर सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। सप्तरी, पर्सा, बाँके लगायतका नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, शंकास्पद व्यक्तिहरूको चेकजाँच, कागजातको माग लगायतका काम तीव्र बनाएका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख उपेन्द्र बुढाथोकीका अनुसार नेपालगन्ज नाकाबाट पाकिस्तान नागरिक नेपाल प्रवेश गर्ने जोखिम देखिएको छ। भारततर्फ भारतीय सशस्त्र सीमा सुरक्षा बलले समेत निगरानी कडाइ गरेकोले ठूलो जोखिम नरहेको भए पनि सतर्कता आवश्यक रहेको जनाइएको छ।

पूर्व एआइजी बमबहादुर भण्डारीका अनुसार भारत–पाकिस्तानबिच जति तनाव बढ्छ, नेपालमा सुरक्षाको संवेदनशीलता उति नै तीव्र हुन्छ। खुला सीमाको कारण कसैको पनि मुभमेन्ट सहज हुने भएकाले नेपाली भूमिको दुरुपयोग रोक्न सबै सुरक्षा निकाय, अध्यागमन र भन्सारसमेत उच्च सतर्कतामा रहनुपर्ने आवश्यकता औंल्याएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0