पोखरा, १९ वैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरेका छन्। धनकुटाको भेडेटारस्थित स्काइवाकको अवलोकनपछि शुक्रबार उनले स्काइवाक निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा समेत साहसिक पर्यटक गन्तव्य विकास गर्न आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहजीकरण गर्न तत्पर रहेको बताए।
मुख्यमन्त्री कँडेलले स्काइवाकको अनुभव अद्वितीय भएको उल्लेख गर्दै कर्णालीका थुप्रै स्थानहरू पनि यस्तो साहसिक संरचनाका लागि उपयुक्त रहेको बताए। उनले निजी क्षेत्रको लगानीमा प्रदेश सरकार सकारात्मक रहेको स्पष्ट पार्दै, लगानीकर्तालाई प्रोत्साहित गर्ने वातावरण तयार गरिएको जनाए।
भेडेटारको चार्ल्स प्वाइन्टमा रु. २० करोडको लागतमा निर्माण भएको स्काइवाकले हाल पूर्वी नेपालको पर्यटकीय आकर्षणमा नयाँ ऊर्जा भरेको छ। स्काइवाकको ३३ मिमि मोटाइको सिसाबाट धरान, इटहरी, साँगुरीगढी, चारकोसे झाडी लगायतका रमणीय दृश्यावलोकन गर्न सकिन्छ। यहाँ आउने पर्यटकले प्रतिव्यक्ति पाँच सय रुपैयाँ तिरेर स्काइवाकको रोमाञ्चकता अनुभव गर्न सक्छन्।
निर्माण कम्पनीका अनुसार परियोजनामार्फत एक सयजना प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा आबद्ध छन् भने भारतीय र बंगलादेशी पर्यटकको आकर्षणसमेत बढ्दो छ। स्काइवाकको उद्घाटन कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र कोशी प्रदेशसभा सदस्य निरन राईलगायतको उपस्थिति रहेको थियो।





























