पोखरा, १९ वैशाख। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ अन्तर्गत आज १२ जनाको सामूहिक व्रतवन्ध विधिपूर्वक सम्पन्न गरिएको छ। व्रतवन्धमा सहभागी सम्पूर्णलाई आयोजकले सम्मानसमेत गरेको छ। सोही अवसरमा महायज्ञको विधिपूर्वक हवन कार्यक्रम पनि एक सय हवन कुण्डमार्फत सुरु गरिएको छ, जसको विधिवत् शुभारम्भ बिहान ६:४५ मा अग्नि मन्थन गरी गरिएको थियो।

हवनका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार प्रत्येक कुण्डमा तीन जनाका दरले ब्राह्मणले दिनदिनै गायत्री मन्त्रको विधिबाट हवन गर्ने छन्। मूल मण्डपमा वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बाबुआमा मणिराम र जानका भण्डारी उपस्थित रहने छन् भने अन्य कुण्डमा ब्राह्मणद्वयद्वारा नृत्य हवन गरिनेछ। हवन बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो विश्रामपछि १:१५ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। महायज्ञको समापन जेठ २६ गते पूर्णाहुति, अभिषेक र महाप्रसाद ग्रहणसहित गरिनेछ।

महायज्ञ अन्तर्गत शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने संयोजक प्रजापति पराजुलीले जनाएका छन्। प्रतियोगितामा करिब ३०० समूह सहभागी हुनेछन्। प्रथम हुने समूहले ३ लाख ५५ हजार ५५५, दोस्रोले २ लाख ५५ हजार ५५५, तेस्रोले १ लाख ५५ हजार ५५५ र सान्त्वना पुरस्कार दुई समूहलाई ६५/६५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, ११ विधामा २५ हजार ५२५ रुपैयाँका दरले पुरस्कार पनि व्यवस्था गरिएको छ।

आजदेखि भारतका चर्चित युवा दार्शनिक प्रशान्त कृष्ण परांकुशद्वारा रामकथा वाचन सुरु गरिएको छ, जसले आगामी नौ दिनसम्म पोखरावासीलाई रामायणको कथा सुनाउनेछन्। साथै कथा वाचिका सुप्रिया क्रिशोरीद्वारा नित्य कथा वाचन पनि जारी छ।

कोटीहोमको १५औं दिनमा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य, नेपाली सेनाका अधिकृत, पूर्व निर्वाचन आयुक्तलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति देखिएको थियो। आयोजकका अनुसार हालसम्म महायज्ञमा एक लाख १० हजारभन्दा बढी भक्तजनको सहभागिता भइसकेको छ भने धार्मिक आस्थासहितको सहयोग रकम पनि उल्लेख्य रूपमा प्राप्त भइरहेको छ। महायज्ञमा दान दिनेहरूमा मुस्ताङका मोहन सिंह लालचन अग्रस्थानमा छन्, जसले २ लाख ५५ हजार ५५५ रुपैयाँ योगदान दिएका छन्।

कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा लाखौँको रामनाम लेखन, शिवलिङ्ग स्थापना, कलश पूजन, चौरासी पूजा, तुलादान, भजन प्रतियोगिता, चित्रकला, रक्तदान, कन्या पूजन, ज्येष्ठ नागरिक सम्मानलगायत विविध धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिने छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0