पोखरा, २० वैशाख। सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच आज चार बुँदे सहमति भएसँगै लामो समयदेखि जारी रहेको आन्दोलन अन्त्य भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच मन्त्रालयमा सम्पन्न वार्तामा औपचारिक सहमति भएपछि चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन्।
मन्त्रालयका तर्फबाट सहसचिव डा. भीमप्रसाद सापकोटा र एसोसिएसनका महासचिव डा. सञ्जिव तिवारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाका चिकित्सकसरह आठौँ तहको भत्ता उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने व्यवस्था मिलाइनेछ।
त्यस्तै, आवासीय चिकित्सकहरूको बिदा, कार्य समय, र अन्य सुविधासम्बन्धी विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति पनि भएको छ। साथै, चिकित्सा शिक्षा आयोगको अठारौँ बैठकअनुसार म्याचिङ प्रणालीमार्फत एकीकृत भर्ना सुनिश्चित गर्न मन्त्रालयले आवश्यक समन्वय गर्नेछ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सहभागितामा सम्पन्न छलफलले सहमति प्राप्त गरेपछि नेपाल चिकित्सक संघले एक महिनादेखि जारी आन्दोलनलाई औपचारिक रूपमा स्थगन गरेको घोषणा गरेको छ। संघले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम रोकिएको बताएको छ।




























