पोखरा, २२ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति तथा कार्यक्रम विगतमा असफल ठहरिएका एजेन्डाहरूको दोहोरोपन मात्र भएको गुनासो गरेका छन्। सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको, बरु विगतकै असफल योजनाहरूको पुनरावृत्ति गरेको टिप्पणी गरे।

सांसद शर्माले हाल प्रस्तुत नीति तथा कार्यक्रमले नविन सोच, यथार्थ विश्लेषण र व्यवहारिक योजना दिन नसकेको भन्दै आलोचना गरे। उनका अनुसार, केवल पुराना एजेन्डाहरू दोहोर्‍याएर अब पनि परिणाम आउने अपेक्षा गर्नु यथार्थविपरीत हुनेछ। उनले प्रतिस्पर्धात्मक क्षेत्रको पहिचान र तुलनात्मक लाभको अध्ययनमार्फत उद्योग तथा उत्पादन क्षेत्रको समुन्नति गर्ने खालको नीति आवश्यक भए पनि सरकारले त्यसमा चासो नदेखाएको बताए।

शिक्षा क्षेत्रसम्बन्धी नीतिमा पनि स्पष्टता र गम्भीरता नभएको उल्लेख गर्दै शर्माले सरकारमा स्वार्थ समावेश भएको संकेत गरे। उनले समान गुणस्तरको शिक्षा प्रणाली स्थापनाका लागि लगानी वृद्धि तथा ठोस कार्ययोजना आवश्यक रहेको धारणा व्यक्त गरे। तर, सरकारले यस्तो कार्यक्रम अघि नबढाउनु सरकारको उद्देश्यप्रति नै प्रश्न उठाउने विषय भएको उनले बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0