पोखरा, २३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भन्दै गहिरो आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले १२ वर्षदेखि सुन्दै आएको नीति तथा कार्यक्रम सारहीन दोहोरिएको उल्लेख गर्दै, यसले देशको समस्याको हल दिन नसक्ने स्पष्ट पारे।
डा. वाग्लेले नीति तथा कार्यक्रमले निरन्तरतामा क्रमभंगता गर्न सके मात्र त्यसको औचित्य रहने बताए। उनले सरकारले ल्याएका कार्यसूची पुरानै जस्तो लागेको भन्दै यसलाई “थाकेको सरकारले जाँगर नल्याई ल्याएको कार्यक्रम” भनेर टिप्पणी गरे।
उनले सरकारले जनतामाझ प्रचार गरेका राम्रा कामहरू खोक्रा देखिएको बताए। तर, सकारात्मक पहलको समर्थन गर्ने आफ्नो पार्टीको नीतिलाई जोड दिंदै उनले एक अध्यादेशलाई समर्थन गरेको प्रसंग पनि स्मरण गरे।
राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोडिएका योजनाको नाम फेर्नु सकारात्मक कदम भएको बताउँदै उनले नयाँ नामको बदनाम नहोस् भन्नेमा सरकारलाई सचेत रहन आग्रह गरे। साथै, उनले रवीन्द्र मिश्र र रवि लामिछानेलाई थुनेको सरकारको रवैयाले कसरी स्मरण गरिने हो भनी प्रश्न गर्दै गम्भीर संकेत गरेका थिए।































