पोखरा, २५ वैशाख। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले सामना गरिरहेका समस्याहरूको समाधान तत्काल सहज नरहेको र यसका लागि निरन्तर एवं समन्वयात्मक प्रयासको खाँचो रहेको औंल्याउनुभएको छ। बुधबार लोकान्तर डटकमको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘आशा र उन्नति’ विषयक विशेष बहसमा आफ्नो धारणा राख्दै अध्यक्ष अग्रवालले मुलुकमा व्याप्त निराशाको प्रमुख कारण बेरोजगारी भएको र अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्दा यो समस्या झनै गहिरिएको स्पष्ट पार्नुभयो।

उहाँले कुनै एउटै बजेटले मात्रै मुलुकका समग्र आर्थिक समस्याहरूको समाधान गर्न नसक्ने यथार्थलाई स्वीकार गर्दै यसका लागि श्रृंखलाबद्ध रूपमा आउने बजेटहरूले ठोस र परिणाममुखी कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो। “निराशाको कारण बेरोजगारी हो। बेरोजगारी किन भन्दा अर्थतन्त्र चलायमान छैन। एउटै बजेटबाट समस्या समाधान हुने होइन, यसमा धेरै बजेटले साथ दिनुपर्छ,” अध्यक्ष अग्रवालले भन्नुभयो, “यसपटक सरकारले गर्छ भन्ने भरोसा छ। सरकारले गर्न खोजेको जस्तो पनि देखिएको छ।”

अध्यक्ष अग्रवालले देश आफ्नै स्वाभाविक गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रका आवश्यकताहरू केवल निजी क्षेत्रको मात्र नभएर समग्र राष्ट्रकै आवश्यकता भएको तर्क प्रस्तुत गर्नुभयो। “हाम्रो नीतिहरू राम्रो भएपछि लगानी आउँछ। लगानी भित्र्याउन सकिन्छ,” उहाँले थप्नुभयो, “एउटै बजेटबाट सबै समस्या समाधान हुन्छ भन्ने सोच्नु हुँदैन। हामीलाई स्थिर नीति र स्थिर सरकार आवश्यक हो।” उहाँले आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्न स्थिर नीति र सरकारको अपरिहार्यतामा जोड दिँदै यसले मात्रै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0