पोखरा, २५ वैशाख। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले धार्मिक अनुष्ठानका साथै युवा प्रतिभालाई प्रोत्साहन गर्ने र सामाजिक सम्मानका विविध कार्यक्रमहरूलाई अगाडि बढाएको छ। यसै क्रममा, महायज्ञ स्थलमा जेठ महिनाको पहिलो हप्ता ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताका संयोजक, प्रसिद्ध पब्लिक स्पिकर, मोटीभेटर तथा शिक्षा एवं संस्कृतिविद् डा. तुलसी प्रभास खनालका अनुसार, यस प्रतियोगितामा देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। एसइई तथा कक्षा ११ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई पनि प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
डा. खनालले प्रतियोगिताका विजयीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो। प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीयलाई ४१ हजार १ सय ४१, तृतीयलाई ३१ हजार १ सय ३१ र सान्त्वना स्थान हासिल गर्नेलाई २१ हजार १ सय २१ रुपैयाँ नगदका साथै विविध सम्मान प्रदान गरिनेछ। प्रतियोगिताको आकर्षणका रूपमा देशका प्रख्यात पब्लिक स्पिकरहरूद्वारा विशेष प्रवचन र उत्प्रेरणात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका बाल प्रतिभाहरू पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी र नवलपुरकी मनिषा पौडेललाई अतिथि वक्ताको रूपमा आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। प्रतियोगिताको मूल्याङ्कन ख्यातिप्राप्त व्यक्तित्वहरूबाट निष्पक्ष रूपमा गरिने डा. खनालले बताउनुभयो।
कास्की बाहिरबाट आउने सहभागीहरूलाई आतेजाते यातायात खर्च र आवासको व्यवस्था गरिनेछ भने प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले वैशाख मसान्तभित्र नाम दर्ता गरिसक्नुपर्नेछ। हालसम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, बाँके, बर्दिया, झापा, धादिङ लगायत विभिन्न जिल्लाबाट ५० जनाभन्दा बढीले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ। प्रत्येक वक्तालाई ७ मिनेटको समय उपलब्ध गराइनेछ र प्रस्तुति सकारात्मक सन्देश प्रवाह गर्ने खालको हुनुपर्नेछ। एउटा विद्यालयबाट जतिसुकै संख्यामा पनि विद्यार्थीले सहभागिता जनाउन पाउने व्यवस्थाले प्रतियोगितालाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ। डा. खनालले भन्नुभयो, “कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न र हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको हो। कोटिहोममा धर्म संस्कृति सँगै शिक्षालाई पनि जोडेर सबैको अपनत्व बनाउन यो प्रतियोगिता कोषेढुङ्गा साबित हुनेछ।”
यसैगरी, कोटिहोममा यही वैशाख २७ गते शनिबार एक हजारभन्दा बढी कन्याहरूको सामूहिक पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो। तीनदेखि नौ वर्ष उमेर समूहका बालिकाहरूलाई पूजा गरिनेछ। साथै, ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। वैशाख २९ गते चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण जस्ता महत्त्वपूर्ण धार्मिक अनुष्ठानहरू पनि निरन्तर सञ्चालन भइरहेका छन्। महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको सङ्गम गण्डकी कोटिहोम भएकोले यस पुण्य स्थलको दर्शन गर्न कोही नछुट्न आग्रह गर्नुभएको छ। कोटिहोममा दैनिक ४ सयभन्दा बढी ब्राह्मणहरूद्वारा हवन भइरहेको छ भने वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज लगायतका विशिष्ट व्यक्तित्वहरूबाट प्रवचन तथा राष्ट्रिय भजन प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमहरू पनि जारी छन्। पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी यो महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ र यसमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू तथा भक्तजनको उपस्थिति दिन प्रतिदिन बढ्दै गएको छ।































