पोखरा, २५ वैशाख। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) विविध क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहने भएको छ। भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द कोटिहोममा आउनुहुनेछ।
साथै, चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पनि आज कोटिहोममा उपस्थित हुनेछन्। उनीहरूसँगै पोखरेली चेली, गायिका समीक्षा अधिकारी र लोकदोहोरी गायिका पार्वती जिसीको पनि उपस्थिति रहनेछ, जसले कार्यक्रमलाई संगीतमय बनाउनेछन्।
यसैगरी, टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ विशिष्ट व्यक्तिहरू र १ सय विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा उपस्थित हुनेछन्। बिसीको भजनको भिडियो विमोचनको कार्यक्रम पनि तय गरिएको छ। सामाजिक कार्यकर्ता यमलाल भण्डारी, जो सर्प उद्धारकर्ता पनि हुन्, आज कोटिहोममा उपस्थित हुनेछन्।
आयोजकहरूले जानकारी दिएका अनुसार वैशाख २७ गते शनिबार १ हजार भन्दा बढी बालिकालाई पूजा गराउने तयारी छ। यसैगरी, ७० वर्षभन्दा माथिका १ हजार ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।
महायज्ञका आयोजक वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोममा साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन र आशीर्वाद प्राप्त गर्न आएका भक्तजनहरूको योगदानले महायज्ञ सफल भइ रहेको बताए।
































