पोखरा, २८ वैशाख। पछिल्ला दिनमा भारत र पाकिस्तानबीच भएको सैन्य आक्रमण र प्रतिआक्रमणपछि उत्पन्न तनाव अन्ततः शनिबार पूर्ण युद्धविराममा परिणत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको वार्तापछि दुवै देशले तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका हुन्। ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै विवेक र संयमका लागि दुवै देशको प्रशंसा गरेका छन्।
शनिबार बिहानदेखि साँझसम्म सीमामा भएको गोलीबारी, मिसाइल आक्रमण र बम प्रहारले स्थिति चिन्ताजनक बनेको थियो। सन् १९९९ को कारगिल युद्धयता पहिलोपटक यति गम्भीर रूपमा तनाव चुलिएको बताइएको छ। आणविक हतियारयुक्त दुई देशबीचको यस्तो द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायलाई समेत गम्भीर चिन्ता पैदा गराएको थियो।
युद्धविरामपछि दुवै देशका सेनाहरूलाई सीमामा संयम अपनाउन निर्देशन दिइएको छ। साथै, कूटनीतिक संयन्त्र स्थापना गरी दीर्घकालीन संवाद प्रक्रिया थालिने अपेक्षा गरिएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार शनिबार दिउँसो पाकिस्तानका सैन्य प्रमुखले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गरी साँझ ५ बजेदेखि स्थल, हवाई र समुद्री सबै मार्ग हुँदै हुने आक्रमण तुरुन्त रोकिने सहमति जनाएका थिए।
आगामी संवाद मे १२ तारिखका लागि तय गरिएको छ। युद्धविरामले हाललाई राहत दिएको भए पनि पहलगाम घटनाको जस्तो आतंकी कारबाही र त्यसको बदलामा हुने सैन्य कार्यवाही नदोहरिने वातावरण सिर्जना गर्नु दीर्घकालीन समाधानका लागि अपरिहार्य देखिन्छ।


























