पोखरा, २८ वैशाख। भारत र पाकिस्तानबीच पछिल्ला केही दिनदेखि बढ्दो सैन्य तनाव शनिबार साँझबाट औपचारिक युद्धविराममा परिणत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न वार्तापछि दुवै मुलुकले सबै प्रकारका सैन्य कारबाही तत्काल रोक्ने सहमति जनाएका हुन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको जानकारी दिँदै दुवै देशलाई संयम र विवेक प्रयोग गरेकोमा प्रशंसा गरेका छन्।

तर, यो युद्धविरामको विश्वसनीयता तत्कालै प्रश्नचिह्नमा परेको छ। भारतीय पक्षले युद्धविराम घोषणा भएको तीन घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ। जम्मु-कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती क्षेत्रमा ड्रोन आक्रमण र गोलीबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय सेनाका अनुसार यस्ता आक्रमणहरू विफल पारिएका छन्।

यो युद्धविरामको पृष्ठभूमिमा अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसको बदलामा भारतले मे ६–७ का रातमा चलाएको ‘अपरेसन सिन्दूर’ मुख्य कारण बनेका थिए। सो अपरेसनमा भारतले पाकिस्तान प्रशासित कश्मीरका विभिन्न आतङ्ककारी संरचनालाई लक्ष्य बनाएको थियो। त्यसपछि पाकिस्तानले ‘बुन्यान अल मार्सूस’ नामक अभियान आरम्भ गरी जवाफी कारबाही थालेको थियो।

दुवै देशले एकअर्काको वायुसेना अड्डाहरूमा आक्रमणको दाबी गरेका छन् भने एकअर्काको ड्रोन र क्षेप्यास्त्र खसालेको पुष्टि गरेका छन्। सीमामा व्यापक गोलीबारी, सायरनको आवाज र ब्ल्याकआउटका घटनाले नागरिक जीवन त्रस्त बनाएको छ।

मे १२ का लागि तय गरिएको अर्को वार्ताबाट थप स्थायित्वको अपेक्षा गरिएको छ। यद्यपि, पाकिस्तानले सिन्धु जल सन्धिसहित द्विपक्षीय सम्झौता निलम्बनको घोषणा गर्नु र भारतले कूटनीतिक तथा जलस्रोत नीतिमा कठोर निर्णय लिनुबाट युद्धविराम दीर्घकालीन हुनेमा संशय उब्जिएको छ।

अहिलेसम्मको झडपमा भारतका पाँच सैनिक र २५ सर्वसाधारणको ज्यान गएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। दुवै देश आणविक हतियारसहितका शक्तिशाली राष्ट्र भएकाले यो तनावले समग्र क्षेत्रीय सुरक्षा सन्तुलनमा चुनौती सिर्जना गरिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0