पोखरा, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न संघीय संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकास, प्रशासनिक सुधार र सुरक्षातन्त्रलाई सुदृढ बनाउने विधेयकहरूमा ढिलासुस्ती हुनु मुलुकको हितमा नभएको बताए।
उनले संघीय निजामती सेवा विधेयक, वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकहरूको छिटो पारित गरिनुपर्नेमा जोड दिए। यस्ता विधेयकहरूले संघीयता कार्यान्वयन, जनशक्ति व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मद्दत गर्ने उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक र नेपाल नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विधेयकहरूलाई पनि प्राथमिकतामा राख्न आवश्यक रहेको बताए। नेपालको हवाई सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले यी विधेयकहरू आवश्यक रहेको उनको भनाइ थियो।
उनले विधेयकहरू लम्बिँदा नीतिगत अप्ठ्यारो सिर्जना हुने भएकाले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा ऐक्यबद्धता देखाउन सांसदहरूलाई आग्रह गरे। सरकारको नीति कार्यक्रम कार्यान्वयनमा विधायी निकायको सक्रियता अनिवार्य रहेको उनले स्मरण गराए।




























