पोखरा, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी अर्थात् नयाँ पुस्ताले सुरु गर्ने सबैखाले व्यवसायलाई स्टार्टअप मानिने स्पष्ट पार्दै स्टार्टअपको परिभाषामै फरक दृष्टिकोण प्रस्तुत गरेका छन्। आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा उनले स्टार्टअप भन्नाले केवल प्रविधि वा नवप्रवर्तनमा आधारित व्यवसाय मात्र नहुने धारणा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले युवापुस्ता, विशेष गरी जेन–जी पुस्ताले आफ्नै पहलमा सुरु गर्ने कृषि, घरेलु, साना उद्योग वा कुनै पनि व्यवसाय स्टार्टअपको दायरामा पर्ने बताएका हुन्। उनले भने, “अब स्टार्टअपको परिभाषा यसरी बुझ्नुपर्छ—जहाँ नयाँ पुस्ताले जोश र उत्साहका साथ व्यवसाय सुरु गर्छ, त्यो स्टार्टअप हो।”
अघिल्लो वर्ष औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्टार्टअपका लागि स्वीकृत ६६१ कर्जामध्ये अधिकांश कृषि, घरेलु तथा साना व्यवसायसँग सम्बन्धित रहेको तथ्य पनि उनले प्रस्तुत गरे। उनले यो तथ्यले नै पुष्टि गर्ने जनाए कि नेपालमा स्टार्टअपको अभ्यास विविध क्षेत्रमै भइरहेको छ, न कि केवल प्रविधिमा सीमित।
प्रधानमन्त्री ओलीको यस्तो धारणा स्टार्टअपबारेको परम्परागत सोचमा चुनौती दिने गरी आएको छ, जसले स्टार्टअपलाई विशेष गरेर सूचना प्रविधि र नवप्रवर्तनसँग मात्र जोड्ने चलन थियो। सरकारको दृष्टिमा अब युवा पुस्ताले सञ्चालनमा ल्याएको जुनसुकै व्यवसायले पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावनाका आधारमा स्टार्टअपको मान्यता पाउनेछ।





























