पोखरा, २९ वैशाख। डिजिटल रुपान्तरण र सूचना प्रविधिको सम्भावनालाई उजागर गर्न मधेश प्रदेशमा पहिलोपटक ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ। यही वैशाख ३१ गते बुधवार महोत्तरीको बर्दिवासस्थित होटल नाभ्यामा हुने कन्क्लेभ गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा सम्पन्न हुने तयारी गरिएको हो।

‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ भन्ने मूल नारासहित हुने कन्क्लेभमा डिजिटल पूर्वाधार, शिक्षा, नीति, सुरक्षा, स्टार्टअप, एआइ र डेटा सुरक्षाजस्ता विविध पक्षमा गहन छलफल गरिनेछ। कन्क्लेभमा ३० भन्दा बढी विशेषज्ञ वक्ताहरुले ६ भन्दा बढी सत्रमा प्रस्तुती दिनेछन्। यस अवसरमा मधेश प्रदेशको डिजिटल अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।

कन्क्लेभमा विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल ट्रान्सफर्मेसन सम्बन्धी आइडियाहरूको पनि शोकेस र प्रस्तुती गरिनेछ। यसका लागि सहभागीहरूले www.madhesh.digital वेबसाइटमार्फत आफ्नो डिजिटल समाधान दर्ता गराउन सक्नेछन्। कन्क्लेभमा स्थानीय तह, प्रदेश मन्त्रालय र आइसिटीसँग सम्बन्धित सरोकारवालाहरूको समेत उल्लेख्य उपस्थिति रहनेछ।

प्रादेशिक कन्क्लेभको रुपमा यसअघि कर्णालीमा सफल आयोजनापछि आयोजना हुन लागेको डिजिटल मधेश कन्क्लेभले आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माणमा डिजिटल र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिन प्रेरणा पुर्याउने अपेक्षा गरिएको छ। करिब तीन सयभन्दा बढी सहभागी रहने भनिएको यस कार्यक्रमले मधेश प्रदेशमा डिजिटल नेतृत्व र पहललाई गति दिने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0