पोखरा, ३० वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेशन सिन्दूर’ सुरु भएयता पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका छन्। राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले सुरक्षा बलप्रति गहिरो सम्मान प्रकट गर्दै अपरेशन सिन्दूरलाई केवल सैन्य रणनीति नभई सम्पूर्ण भारतीय जनताको भावना र आत्मबलको प्रतिबिम्ब भएको बताएका छन्।
प्रधानमन्त्री मोदीले आफ्ना सुरक्षाकर्मीहरूलाई सलाम गर्दै विगत केही दिनमा देशले असाधारण धैर्य र साहस देखाएको उल्लेख गरे। उनले भने, “अपरेशन सिन्दूर केवल एउटा नाम होइन, यो करोडौं भारतीयको मनको आवाज हो। म हाम्रा सुरक्षा बललाई नमन गर्दछु, जसले आफ्नो वीरता र निष्ठा प्रमाणित गरेका छन्।”
सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले पाकिस्तानमाथिको कारबाहीलाई निर्णायक भनेका छन्। उनका अनुसार भारतले मिसाइल र ड्रोन प्रयोग गरी पाकिस्तानमा रहेको आतंकवादी संरचनालाई ध्वस्त बनाएको छ। “हाम्रा आक्रमणले उनीहरूको भवन मात्र होइन, आत्मबल समेत चकनाचुर भएको छ,” मोदीले जोड दिए।
पाकिस्तानसँग सम्भावित वार्ता सम्बन्धमा प्रधानमन्त्री मोदीले स्पष्ट पारे कि भारत आतंकवादलाई स्वीकार गर्न सक्दैन। उनले पानी र रगत सँगै बग्न नसक्ने भन्दै वार्ता सम्भव भए पनि त्यो केवल आतंकवादविरुद्धकै हुने धारणा राखे।
यस सम्बोधनले भारतको आक्रामक र स्पष्ट नीति पुनः पुष्टि गरेको छ, जसमा आतंकवादविरुद्ध कुनै सम्झौता नगर्ने अडान देखिन्छ।




























