पोखरा, ३० वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी आक्रमणपछि भारतले दिएको कडा सैन्य जवाफलाई ऐतिहासिक कदम भन्दै सुरक्षा बलको प्रशंसा गरेका छन्। सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले निर्दोष नागरिकको विभत्स हत्यापछि सिंगो भारत एकताबद्ध भएर आतंकवादविरुद्धको कारबाहीमा उत्रिएको बताएका हुन्।

प्रधानमन्त्री मोदीका अनुसार १० वैशाखमा जम्मु कश्मीरमा भएको नरसंहारको जवाफस्वरूप भारतले “अपरेशन सिन्दूर” अन्तर्गत पाकिस्तानको आतंकवादी आधारशिविरहरूमा लक्षित आक्रमण गरेको थियो। सो कारबाहीमा एक सयभन्दा बढी खुंखार आतंककारी मारिएको दाबी गरिएको छ। उनका अनुसार सेनाले आतंकवादीको तालिम केन्द्र र संरचना तहस-नहस बनाइदिएको छ।

मोदीले आक्रमणलाई “देशको बहिनी, छोरीको सिन्दुर मेटाउनेहरूलाई दिइएको सन्देश” का रूपमा व्याख्या गर्दै अपरेशन सिन्दूरलाई जनभावनाको प्रतिबिम्ब र न्यायको अखण्ड प्रतिज्ञा भनेका छन्। उनले ६ मेको राति र ७ मेको बिहान भारतले जुन कारबाही देखाएको थियो, त्यसले दुनियाँलाई भारतको दृढता प्रमाणित गराएको बताएका छन्।

उनका अनुसार भारतको स्पष्ट र निर्णायक कारबाहीपछि पाकिस्तान निराश र हतास बनेर जवाफी कदम चालेको थियो। त्यसले दुई देशबीचको सम्बन्धमा तीव्र तनाव सिर्जना गरायो। तर, अमेरिकासहितका राष्ट्रहरूको पहलमा युद्धविराम लागू गरिएको छ र अब दुबै मुलुक तटस्थ स्थानमा वार्ताका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।

प्रधानमन्त्री मोदीको सम्बोधनले भारतको आतंकवादविरुद्धको अडान पुनः स्पष्ट बनाएको छ, जहाँ सुरक्षा र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि राखिएको देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0