पोखरा, ३१ वैशाख। सन् २०२५ को प्रारम्भिक चरणमै बेलायतको श्रम बजारमा मन्दीका संकेतहरू देखिन थालेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) द्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कअनुसार बेरोजगारी दरमा वृद्धि, तलब वृद्धिदरमा कमी, र रोजगार अवसरहरूमा गिरावटले अर्थतन्त्रको गति सुस्त हुँदै गएको प्रष्ट देखिएको छ।
सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत पुगेको भए पनि बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा केही बढेको पाइएको छ। त्यस्तै, फेब्रुअरीदेखि मार्च महिनासम्म कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारीको सङ्ख्या ४७ हजारले घटेको छ भने अप्रिल महिनामा थप ३३ हजारको कटौती हुने प्रारम्भिक अनुमान गरिएको छ।
तलब वृद्धिदरमा पनि मन्दी देखिएको छ। बोनस बाहेकको औसत साप्ताहिक आम्दानी ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतको तुलनामा कम हो। बोनससहितको तलब वृद्धिदर ५.५ प्रतिशत रहेको छ। वास्तविक तलब वृद्धिदर भने मुद्रास्फीतिलाई समायोजन गर्दा १.८ प्रतिशतमा सीमित देखिएको छ।
रोजगारका अवसरसमेत घट्दै गएका छन्। हाल कुल रोजगारी अवसर सात लाख ६१ हजार रहेको छ, जुन महामारीपूर्वको तुलनामा अझै कम हो। विश्लेषकहरूले उच्च तलब कर र न्यूनतम तलबमा हालै गरिएको वृद्धिलाई रोजगारी कटौतीको प्रमुख कारण मानेका छन्। खुद्रा र आतिथ्य सेवाका क्षेत्रमा विशेषगरी मार्च र अप्रिलमा रोजगारी कटौती भएको उल्लेख गरिएको छ।
श्रमिक मागमा केही कमी देखिए पनि तलब वृद्धिदर अझै अपेक्षाकृत उच्च रहेकाले बेलायतको केन्द्रीय बैंकलाई मुद्रास्फीति नियन्त्रणमा चुनौती झेल्नुपरेको छ। हालै मात्र बैंक अफ इङ्गल्याण्डले प्रमुख ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै ४.२५ प्रतिशतमा झारेको भए पनि थप ब्याजदर कटौतीको विषयमा निर्णय लिन अझै प्रतीक्षा गरिएको छ।
यद्यपि ओएनएसले श्रमशक्ति सर्वेक्षणमा तथ्याङ्क सङ्कलन पद्धतिमा सुधार आएको जनाएको छ, सहभागीको दर अझै महामारीपूर्वको तुलनामा कम रहेकाले केही विवरणमा सीमा रहेको बताइएको छ। विश्लेषकहरूका अनुसार श्रम बजारमा देखिएको यो चिसोपन आन्तरिक नीति मात्र नभई विश्वव्यापी व्यापारिक अनिश्चितताका कारण पनि हो।


























