पोखरा, ३१ वैशाख। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस देशको समस्याको समाधानमा जिम्मेवारीपूर्वक क्रियाशील रहेको बताएका छन्। कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रियामा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसले नेपाली जनताको आस्था र विश्वास बोकेको पार्टीका रूपमा मुलुकलाई समृद्धितर्फ डोहोर्याउने जिम्मा वहन गरिरहेको बताए।
गृहमन्त्री लेखकले कांग्रेसकै नेतृत्वमा बनेको समावेशी संविधानको उपलब्धि उल्लेख गर्दै त्यसैको कारण आज देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बन्न सकेको तर्क गरे। उनले वर्तमान संविधानले एउटै पार्टीको सरकार बनाउन सक्ने अवस्था नरहेकाले गठबन्धन सरकार नै एक मात्र विकल्प भएको बताउँदै राजनीतिक स्थिरताका लागि वर्तमान सरकार निर्माण गरिएको स्पष्ट पारे।
उनका अनुसार नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले हालको सरकारले वैदेशिक मुद्राको सञ्चिति वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व संकलनमा सुधार तथा आयात घटाउँदै निर्यातमा वृद्धि गरेको देखाएको छ। उनले कांग्रेस इमान्दारीका साथ देश विकासमा समर्पित रहेको दाबी गरे।
मन्त्री लेखकले प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएका विधेयक पारित हुने चरणमा पुगेको जानकारी गराउँदै शिक्षा विधेयक असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित हुने विश्वास व्यक्त गरे। उनले संविधान संशोधनका लागि कार्यदल गठन प्रक्रिया अगाडि बढेको र सम्भव भएसम्म सबै दलको सहमतिमा संशोधन गरिने धारणा राखे।
कार्यक्रममा कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी र सचिव मोदराज घिमिरेले जनताको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने सुझाव राखे। विभिन्न स्थानीय तहका अध्यक्ष तथा कार्यकर्ताले कृषि औजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण इलाकामा प्रहरी कार्यालय स्थापनालगायतका माग राख्दै सरकारलाई तीव्र रूपमा समस्या समाधान गर्न आग्रह गरे।




























