पोखरा, ३१ वैशाख। लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटमाथि गहन छलफल गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ ‘लोमान्थाङ घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। वैशाख २७ गते उपराष्ट्रपति रामसहाय यादवको उद्घाटनबाट सुरु भएको सम्मेलन काठमाडौं, पोखरा, पर्वत, म्याग्दी र जोमसोम हुँदै लोमान्थाङमा सम्पन्न भएको हो।
सम्मेलनमा सहभागिहरूले लोकतन्त्र सुदृढीकरण, पत्रकार सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जलवायु संकटका गम्भीर चुनौतीहरूबारे विचार राख्दै घोषणापत्रमार्फत अन्तर्राष्ट्रिय सरोकारवालालाई गम्भीर ध्यानाकर्षण गराएका छन्। घोषणापत्रमा नेपालको संविधानले सुनिश्चित गरेका अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचना अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार, विश्वभर पत्रकारहरूमाथि भइरहेका हिंसा, धम्की र दण्डहीनताप्रति चिन्ता व्यक्त गरिएको छ। विशेषगरी अफगानिस्तान, गाजा लगायतका क्षेत्रका घटनाको विरोध गर्दै सम्मेलनले पत्रकार सुरक्षाका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाएको हो।
नेपालमा डिजिटल माध्यम नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन खोजिएको भन्दै घोषणापत्रले सबै तहका सरकारलाई पत्रकार हितमा नीतिगत सुधार गर्न आग्रह गरेको छ। महासचिव दिलीप पौडेलका अनुसार, जलवायु संकटलाई मानव अस्तित्व र लोकतन्त्रका लागि गम्भीर चुनौतीका रूपमा लिँदै सूचनाको पहुँच र वातावरणीय न्यायका सवालमा प्रेसको भूमिकालाई प्रभावकारी बनाउन प्रस्ताव गरिएको छ।
सम्मेलनले हिमाली क्षेत्र मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई संरक्षण गर्दै जलवायु परिवर्तनको असरबाट जोगाउन विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कोरला नाका सञ्चालन, कालीगण्डकी करिडोरको छिटो सम्पन्नता र धार्मिक पर्यटन प्रवर्द्धनका लागि विशेष माग गरिएको छ।
पोखरामा आयोजित सत्रहरूमा ‘जलवायु संकट र पत्रकारिता’, ‘दक्षिण एशियामा एआई र न्यू मिडिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता’ विषयमा गहिरो छलफल गरिएको थियो। जोमसोममा स्थानीय समुदायसँग जलवायु संकटबारे अन्तक्र्रिया गरिएको थियो।
अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिसहित देशभरबाट १४० भन्दा बढी पत्रकार सहभागी सम्मेलनलाई सहभागीहरूले ऐतिहासिक ठहर गरेका छन्। अध्यक्ष लम्सालले सबैको सहकार्यमा चुनौतीपूर्ण अवस्थाबीच सम्मेलन सफल भएकोमा धन्यवाद ज्ञापन गरेका छन्।






























