पोखरा, ३१ वैशाख। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजन, साधुसन्त, कलाकार तथा राजनीतिक व्यक्तित्वको उपस्थितिका कारण दिनानुदिन भव्य बन्दै गएको छ। कथा वाचन, भजन प्रतियोगिता, प्रवचन, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक कार्यक्रमले महायज्ञको वातावरण पूर्णतः आध्यात्मिक र उत्सवमय बनेको छ।
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको झाँकी र सङ्गीत समूहसहितको प्रवचनले महायज्ञमा ज्ञान र भक्ति दुबैको समिश्रण गरिरहेको छ। झण्डै चार सयभन्दा बढी व्राह्मणद्वारा दिनहुँ हवन कुण्डमा आहुति दिइँदैछ भने सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, २१ कोटि दीप प्रज्वलन, तुला दान, पितृ उद्धार, विवाह कार्यजस्ता पुण्यकर्ममा भक्तजन सहभागी भइरहेका छन्।
महायज्ञमा चर्चित कलाकारहरूको निरन्तर उपस्थितिले पनि माहोल थप आकर्षक बनाएको छ। जेठ १ गते गायिका एलिना चौहान, २ गते पूर्णकला बिसी, ३ गते देउडा गायक नन्दकृष्ण जोशी, ४ गते रमेश सापकोटा, ५ गते राजु ढकाल, ६ गते हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमाल सहभागी हुने जानकारी प्रचार संयोजक लेखराज ढकालले दिएका छन्। आज चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को पनि उपस्थिति रहने बताइएको छ।
भजन प्रतियोगिता पनि महायज्ञको केन्द्रविन्दु बनेको छ। देशभरबाट आएका तीन सयभन्दा बढी समूह सहभागी रहेको प्रतियोगितामा अहिलेसम्म ८५ समूहले प्रस्तुति दिइसकेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार ५५५ रुपैयाँ, दोस्रो र तेस्रोलाई क्रमशः २ लाख ५५ हजार ५५५ र १ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
मंगलवार खडादेवी फ्रेम हाउस, काठमाडौंबाट १ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको छ भने रक्तदान कार्यक्रममा ३ सय बढी व्यक्तिले रक्तदान गरेका छन्। महायज्ञमा सहभागी भई प्रवचन दिइसकेका नामी कथा वाचकहरूमध्ये देवी प्रतिभा, प्रशान्त कृष्ण परांकुशललगायत साधुसन्त छन्। आगामी जेठ १४ देखि २२ सम्म राधिका दासी, देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराजजस्ता ख्यातिप्राप्त वाचकहरूको उपस्थितिमा कथा प्रवचन हुनेछ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता पनि जेठ पहिलो साता आयोजना गरिँदैछ, जसमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन्। आयोजकका अनुसार महायज्ञको यो थलो सबै धर्मप्रेमीका लागि साझा अभियानको केन्द्र भएको छ।































